काठमाडौ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण, सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना अवार्डस् २०७३ मा सामेल चलचित्रहरु र कलाकार तथा प्राविधिकहरुको मनोनयन सूची सार्वजनिक गरेको छ।

kamana-awards1

यस वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्यमा हुने लक्स कामना अवार्डस् २०७३ मा सामेल चलचित्रहरु लामो समय खर्चिएर चलचित्रकर्मीहरुसँग छलफल गरी तयार पारिएको मापदण्डअनुसार सिने क्षेत्रमा विद्धता हासिल निर्णायकहरुले ३ साता लगाएर अवलकोन र मूल्यांकन गरी दिएको सूचिका आधारमा हरेक विधामा ५-५ उत्कृष्ट कलाकार तथा प्राविधिकहरुको मनोनयन सूचि सार्वजनिक गरिएको हो।

kamana-awards2

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै आयोजक संस्था कामना प्रकाशनले सार्वजनिक गरिएको सूचीअनुसार लक्स कामना अवार्डस् २०७३ मा चलचित्रन नाई नभन्नु ल ४ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधाको मनोनयनमा परेको छ। विकासराज आचार्यद्धारा निर्देशित चलचित्र नाई नभन्नु ल उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, हास्य कलाकार, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नवअभिनेता र नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी, द्धन्द्ध, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, श्रृंगार, ध्वनि मुद्रण र सम्पादन गरी २१ विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट नवअभिनेत्रीमा २ नयाँ अनुहार मनोनयनमा परेका छन्।

prem-geet

सुदर्शन थापाद्धारा निर्देशित चलचित्र प्रेम गीत उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, अभिनेत्री, खलपात्र, सहअभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक र पाश्र्व गायिका, कोरियोग्राफी, कथा, पटकथा, छायाँकन, पाश्र्व संगीत, श्रृंगार र सम्पादन विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट २ गीतकार र २ गायक मनोनयनमा परेका छन् भने गायिका अञ्जु पन्त यही एउटै चलचित्रबाट प्रतिस्पर्धामा परेकी छिन्।  दिनेश राउतद्धारा निर्देशित चलचित्र क्लासिक उत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेत्री, गीतकार, पाश्र्व गायक र गायिका, बालकलाकार, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, ध्वनि मुद्रण र सम्पादन गरी १७ विधाको मनोनयनमा परेको छ।

Dreams

अभिनेता तथा निर्माता भुवन केसीद्धारा पहिलोपटक निर्देशित चलचित्र ड्रिम्स उत्कृष्ट चलचित्रसहित नवनिर्देशक, अभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक, नवअभिनेत्री, कोरियोग्राफी, द्धन्द्ध, कथा, पटकथा, छायाँकन, पाश्र्व संगीत, श्रृंगार, ध्वनि मुद्रण र सम्पादन गरी १६ विधाको मनोनयनमा परेको छ।

उज्वल घिमिरेद्धारा निर्देशित वडा नम्बर ६ उत्कृष्ट निर्देशक, अभिनेत्री, हास्यकलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, पाश्र्व गायक र गायिका, कोरियोग्राफी, द्धन्द्ध, संवाद, श्रृंगार र ध्वनि मुद्रण गरी १४ विधाको मनोनयनमा परेको छ। वडा नम्बर ६ बाट सिताराम कट्टेल र केदार घिमिरेबीच हास्य कलाकारको विधामा भिडन्त देखिएको छ।

pashupati-prasad

दीपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र पशुपतिप्रसाद उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, अभिनेता, खलपात्र, द्धन्द्ध, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, श्रृंगार र सम्पादन गरी १२ विधाको मनोनयनमा परेको छ। २०७२ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिस्पर्धामा सम्झना उप्रेती रौनियारद्धारा निर्देशित चलचित्र फागु ५ विधाको मनोनयनमा परेको छ भने कबड्डी कबड्डी, भैरव, फन्को र भाग सानी भाग ३-३ विधामा तथा सुश्री, रेशमफिलिली र चक्लेट २-२ विधाको मनोनयमा परेका छन्।

anju-panta

निष्पक्षता, पारदर्र्शीता र उत्कृष्टताको नमूनाका रुपमा हुने लक्स कामना अवार्डस् २०७३ को मनोनयमा दयाहाङ राई कबड्डी कबड्डीबाट उकृष्ट अभिनेता र फन्कोबाट सह अभिनेता तथा प्रियंका कार्की वडा नम्बर ६ बाट उत्कृष्ट अभिनेत्री र क्लासिकबाट सहअभिनेत्रीको विधामा मनोनयनमा परेकी छिन्। त्यसै गरी गायिका अञ्जु पन्त ३ गीतबाट मनोनयनमा परेकी छिन्। उनी वडा नम्बर ६ को सुर्के थैली खै तथा प्रेम गीतको म यस्तो गीत गाउँछु र म त अलपत्रै पर्छुबाट मनोनयनमा परेकी छिन्।

राजाराम पौडेल हास्यकलाकार र खलपात्र दुबैको प्रतिस्पर्धामा छन् भने द्धन्द्ध निर्देशक हिमाल केसी, कोरियोग्राफर कविराज गहतराज, लेखक सामिप्यराज तिमिल्सिना, गीतकार डा. कृष्णहरी बराल, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकर्मी एलिश कार्की, श्रृंगारकर्ता निमा लामा र चलचित्र सम्पादक सुरेन्द्र पौडेल २-२ फिल्मबाट मनोनयनमा परेका छन्।

लक्स कामना अवार्डस् २०७३ अन्तर्गत यस वर्ष पनि २६ विधामा प्रतिस्पर्धात्मक रुपमा अवार्ड प्रदान गरिनेछ। २६ मध्ये लोकप्रिय १८ विधामा दर्शकको एसएमएस मतका आधारमा सर्वोत्कृष्ट चलचित्र तथा कलाकारको छनौट गरिने कामनाले जनाएको छ। कामनाका अनुसार यी १८ विधाका अवार्डमा ९० प्रतिशत निर्णायकबाट र १० प्रतिशत मत एसएमएसबाट लिइनेछ।

उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी र द्धन्द्ध निर्देशक विधाको एसएमएस मतका लागि बिहीबारबाट भोटिङ खुला हुने पनि आयोजकले जानकारी गराएका छन्। प्राविधीक विधामा भने निर्णायक मण्डलको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिनेछ। यी विधामा एसएमएस मत हुने छैन।

सम्मान चलचित्रको- उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने अवार्ड समारोहमा यस वर्ष पनि पर्दापछाडि र अगाडिका कलाकारलाई गरी २ जनालाई चलचित्र क्षेत्रमा योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान अर्पण गरिनेछ।

निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। त्यसै गरी संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड प्रदान गरिने आयोजक कामना न्यूज पब्लिकेसन्स्द्धारा जारी प्रेस सामग्रीमा उल्लेख गरिएको छ। लक्स कामना अवार्डस् २०७३ मा सह प्रायोजक पशुपति विस्कुट्स, रेड कार्पेट यती कार्पेट, अफिसियल ड्रिंक्स रुसलान भोड्का र अफिसियल बैंक प्रभु बैंक रहेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।