लण्डन। बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। पूर्व विदेशमन्त्री रहेका जोन्सनलाई वर्तमान विदेशमन्त्री जेरेमी हन्टले चुनौती दिएका थिए। मंगलबार घोषणा गरिएको संसदीय दलको निर्वाचनको नजिता अनुसार जोन्सन्ले खसेको ८७.४ प्रतिशत मत मध्ये ९२ हजार १५३ मत प्राप्त गरेका थिए। यस्तै हन्टले ४६ हजार ६५६ मत प्राप्त गरेका थिए।

जोन्सन सन् २००८ देखि २०१६ सम्म लण्डनको मेयरको जिम्मेवारीसमेत समालेका थिए। जोन्सनले बेलायती परम्परा अनुसार बुधबार बेलायती महारानी समक्ष संसदमा आफ्नो बहुमत रहेको दावी प्रस्तुत गरेलगत्तै औपाचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुने छन्।
प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।