लण्डन। बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन्।

नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम।सी।सी)लाई हराएका थिए। तर यी दुई टोलीबीचको निर्णायक खेल भारी वर्षाले अवरुद्ध भएपछि दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो।

लण्डनमा गएराति लगातार भारी वर्षा भएपछि म्याच अम्पायरले खेल रद्द गरेका हुन्। त्यसअघि नेपालले आयोजक एम।सी।सी।माथि ९ विकेटको सानदार जित निकालेको थियो। नेपाल र नेदरल्यान्ड्सबीचको टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो।

हिजो अवरुद्ध भएको यही खेलबाट नेपालले तीन वर्षपछि टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो। सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–ट्वेन्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन्।

अब नेपाल ऐतिहासिक एक दिवसीय शृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको दुई खेलको शृङ्खला यही बुधबार सुरु हुनेछ।
प्रकाशन मिति–२०७५ साल साउन १४ गते सोमवार ।