काठमाडौं। नेपाली चलचित्र उद्योगमा लभर गर्लको रुपमा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठलाई एक्सन रोलमा खासै मन पराएन। संपूर्ण साप्ताहिकका अनुसार, पहिलो फिल्म ‘सानो संसार’ देखि पछिल्लो रिलिज ‘प्रसाद’सम्म पनि उनले त्यो इमेज कायम राखेकी थिइन्। अझ आर्यन सिग्देल र उनको जोडीलाई त धेरैले पर्फेक्ट कपलका रूपमा लिने गरेका थिए। तर, ‘जाइरा’मा उनले यो इमेज बदल्ने निर्णय गरिन्।

उनले लभर गर्ल छाडेर एक्सन गर्ने निर्णय गरिन्। आठ महिना मार्सल आट्र्सको ट्रेनिङ लिइन्। वर्षौंदेखि महँगो स्याम्पूले स्याहारेको सिल्की कपाल फिल्मकै लागि काट्न तयार भइन्। यति मात्र होइन, फिल्मप्रति उनलाई यति भरोसा थियो कि फिल्मले बीचैमा आर्थिक संकट झेलेपछि उनले पैसाको अभिभारा पनि आफ्नो काँधमा लिइन्।

चलचित्र जाइराको निर्माता पनि बनिन्। लभर गर्लवाट एक्सन हिरोइन पनि बनिन्। यति सबै गरुञ्जेल उनलाई विश्वास थियो, मेहनतको फल मीठै हुन्छ। तर, जब अघिल्लो शुक्रबार फिल्म रिलिज भयो, पहिलो सोबाटै दर्शकले उनको मेहनतमा रुचि देखाएनन्।

दिउँसोसम्म थुप्रै सो दर्शक अभावका कारण बन्द भएका समाचार आएको संपूर्ण साप्ताहिकले लेखेको छ। नम्रतालाई लभस्टोरी फापेकै थियो। एक्सन गर्ने रहरले बित्थामा डुबाएको पनि संपूर्णको जिकिर रहेको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २४ गते मंगलवार ।