काठमाडौं।। लमजुङको दोर्दीखोलामा आज बुधबार दिउँसो अचानक बाढी आउँदा ठूलो जनधनको क्षति पुगेको छ। इमेज खवरका नविनराज कुइँकेलका अनुसार, बाढीले बगाउँदा चारजनाको मृत्यु भएको छ। दर्जनौं बेपत्ता छन्।

दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुईजना र कीर्तिपुरबेसीमा दुईजनाको शव फेलापरेको छ । उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताएका छन्। मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीयले बताएका छन्।

दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी फस्दा तीनजना बेपत्ता भएका छन्। टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवर्द्धक केशव रायमाझीको भनाई रहेको छ। उनकाअनुसार हराइरहेका तीन मजदुरको खोजी भइरहेको छ।

बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको छ। बाढीमा परी लिबर्टी इनर्जी पावर कम्पनीद्वारा प्रवर्द्धित दोर्दी जलविद्युत् आयोजनामा कार्यरत् मजदुरहरु पनि हराइरहेका छन्। बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयको भनाई रहेको छ।


प्रकाशन मिति–२०७६ साल साउन ८ गते बुधवार ।