खुदी। लमजुङ जिल्लाको उत्तरी भेग मर्स्याङदी गाउँपालिका वडा नं ३ को खुदीबेनी पारी पल्लोटारीमा आएको  पहिरोले १८ घर पुरिएका छन्। बुधवार बिहान ९ बजेतिर पहिरो गएपछि १८ घर पुरिएको हो।

मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार पल्लोटारी गाउँमाथि डाँडाबाट पहिरो खस्दा पहिरोमा परी ४ जना घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। पल्लोटारीमा पहिरो खस्दा १८ घरका साथमा सयौं पशुचौपाया पुरिएका छन्।

पहिरोले पुरिएका घरहरु नदेखिएको गाउँपालिका अध्यक्ष गुरुङको भनाई रहेको छ। पहिरोमा घर पुरिएका स्थानीयलाई उद्धार गरी नजिकैको स्कुलमा राखिएको छ। लगातारको पानीले माथिबाट ढिस्को खस्दा घरहरु पुरिएको स्थानीयले भनेका छन्।

बिहान पहिरो गएकाले स्थानीयहरु सुरक्षित स्थानमा भाग्न सफल भएकाले ठूलो मानवीय क्षतिबाट बचेका छन्।
प्रकाशन मिति–२०७७ साल साउन ७ गते बुधवार ।