काठमाडौं। प्रकृतिको मनमोहक जिल्ला लमजुङको बेसीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने भएको छ। बुधबार सञ्चार मन्त्रालयमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने विषयमा संझौता भएको हो। यस संझौतावाट वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सिटी लमजुङको बेसीशहरमा बन्ने निश्चित भएको छ।

यस संवन्धमा निर्माण वर्ल्ड एरिया होल्डिङ इटाली र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिले संयुक्त लगानीमा निर्माण गर्ने गरी मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको रोहवरमा सहमति पत्रमा हस्ताक्षर भएका हुन्। सहमतिपत्रमा वर्ल्ड एरिया होल्डिङ इटालीका तर्फबाट अध्यक्ष फ्रान्सेस्को सिङ्नोरिएलो र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राइभेट लिमिटेड नेपालका तर्फबाट अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरेका थिए।

यसको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बेसीशहरको पाँचा रोपनी जग्गामा ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको फिल्म सिटीको निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलब्ध हुने छ।

फिल्म सिटीको निर्माणबाट आन्तरिक रोजगारी सिर्जना हुनुका साथै सरकारले राजस्वसमेत प्राप्त गर्ने छ। फिल्म सिटीको निर्माणसँगै त्यस क्षेत्रमा एउटा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधारसमेत निर्माण गरिने छ।
प्रकाशन मिति–२०७६ साल असार १९ गते विहीवार ।