लमजुङ। प्राकृतिक छटाले भरिपूर्ण पहाडी जिल्ला लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त बनेका छन्। सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो।

भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त बनेका हुन्। गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो। पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासीको भनाई रहेको छ। विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने गरेको छ।

सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताएका छन्।

आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएको छ। मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीको आशङ्का छ।
प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।