खुदी। पश्चिम नेपालको रमणिय जिल्ला लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। तीनजना बेपत्ता छन्।

प्रहरीले जनाएअनुसार, मृत्यु हुनेमा मर्स्याङङ्दी गाउँपालिका वडा नम्बर–३, खुदी–पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरीषा, वडा नम्बर–३, अर्खलेबेसीकी ७० वर्षीया ललितमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–५ की विष्णुकली गुरुङ रहेका छन्।

अतिरुपा र शिरीषा पहिरो छल्न भाग्दैगर्दा पुरिएका थिए। ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो। उनको बिहीबार बिहानमात्र शव फेलापरेको प्रहरीले जनाएको छ। विष्णुकली बाख्रा चराउन जाँदा पहिरोमा परेकी थिइन्। उनका ४० बाख्रामध्ये १३ ओटा मरेको अवस्थामा फेलापरेका छन्। अरु २७ ओटा अझै हराइरहेको छन्।

बेशीसहर–११ स्थित दोर्दीखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुरलाई मर्स्याङ्दी नदीले बगाएको प्रहरीले जनाएको छ। मर्स्याङ्दीमा बेपत्ता हुनेमा बर्दियाका ठाकुरद्धारा नगरपालिका वडा नम्बर–५ का ३२ वर्षीय वलिराम चौधरी र २५ लक्ष्मण थारु रहेका छन्।

यस्तै, मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–४, नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रोखोलामा आएको बाढीमा परी बेपत्ता भएका छन्। बाढीले एउटा ट्याक्टर, तीनओटा मोटरसाइकल, एउटा मिनिट्रक र एउटा जिप बगाएको छ।

बाढी–पहिरोले मर्स्याङ्दी गाउँपालिका वडा–३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुर्‍याएको छ। पहिरोमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा मर्स्याङ्दी–३, खुदी–तरापुका टुकमाया खत्री, कृष्ण थापा, रसीव थापा, सिजन थापा र सोही वडाको अर्खलेबेसीका फूलमाया गुरुङ रहेका छन्।

यस्तै, वडा नम्बर–४ श्रीचौरका मेनका घले र समिर विक पनि घाइते छन् । घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पताल र खुदी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको घोप्टेभीरमा केही सर्वसाधारण र यात्रीहरु फसेका छन्। विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुँदा जिपमा यात्रारत् यात्री र स्थानीय घोप्टेभीरको डाँडामा अलपत्र परेका हुन्।

उनीहरुलाई उद्धार गर्न प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, पूर्वसांसद जमीन्द्रमान घले, गृह मन्त्रालयको विपद् महाशाखाकी सहसचिव इन्दु घिमिरेसहितको टोली हेलिकोप्टरमा घटनास्थल पुगेका थिए। पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएका उनीहरु हेलिकोप्टर अवतरण गर्ने स्थानको अभाव भएपछि त्यसै फर्किएका छन्। पहिरोले बाटो क्षत–विक्षत छ। हेलिकोप्टरबाट पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको एउटा टोली पैदलमार्ग हुँदै त्यसतर्फ पठाइएको छ।

बेशीसहर–चामे सडकको अर्खलेबेसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करिब आधादर्जन घर बगाएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताएका छन्।

मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा चारओटा घर पहिरोले बगाएको छ। वडाअध्यक्ष लिलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स–साना खहरेखोलामासमेत बाढी आएको र ठाउँठाउँमा पहिरो झरेका कारण स्थानीयलाई आवात–जावत गर्नसमेत समस्या भएको बताए । ठाउँठाउँमा पहिरो झरेपछि बेशीसहर–चामे सडकखन्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

प्रकाशन मिति–२०७५ साल भदौ २८ गते विहीवार ।