लमजुङ। पश्चिम नेपालको प्रसिद्ध नदी मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा शनिवार दुईजनालाई मस्र्याङ्दीले बगाएको छ। बेसीशहर–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।

बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको प्रहरीले जनाएको छ। बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक वसन्त पाण्डे भनेका छन्।

पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्धार भएको छ। करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन्। आजकै दिन बेसीशहर–१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ।

प्रकाशन मिति–२०७५ साल साउन १९ गते शनिवार ।