काठमाडौं। अघिल्लो हप्ताको बुधवार लमजुङमा भारी बर्षा भएर करोडौंको धन–जनको क्षति गरेको पीडाको आलो घाउमा कमी भएको छैन्। अझ पीडामा पीडा थपिने क्रम जारी रहेको छ। यसक्रममा भोलि शुक्रबार साँझपछि लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने र खोला तथा नदीमा पानीको बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार बिहान ६ बजेको बुलेटिनमा तीन जिल्लाको सीमाक्षेत्रमा भारी बर्षासँगै बाढी आउने पूर्वानुमान गरेपछि स्थानीय प्रशासनले नदी तथा खोला तटीय क्षेत्र तथा वरपरका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय मनाङ र लमजुङले बिहीबार दिउँसो आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालको पेजमार्फत सार्वजनिक सूचना प्रकाशित गरी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरिएको बाढी बुलेटिन अनुसार शुक्रबार बेलुका पछि लमजुङको उत्तर, मनाङको पूर्वी भाग र गोरखाको पश्चिम भागबाट वहने साना नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने पूर्वानुमान गरेको प्रशासनले जनाएको छ।

बाढीपहिरोका कारण लमजुङमा ५ जनाको मृत्यु भइसकेको छ भने २ जना अझै बेपत्ता छन् । मस्र्याङदी गाउँपालिकामा आएको बाढीपहिरोले ५ जनाको मृत्यु भएको थियो । बाढीपहिरोमा परेर ११ जना घाइते भएका थिए। १९ घर पूर्ण रुपमा र ५५ घरमा आंशिक क्षति पुगेको छ।
प्रकाशन मिति–२०७५ साल असोज ४ गते विहीवार ।