ललितपुर। ललितपुरको तीन स्थानमा इकोपार्क निर्माण गर्ने भएको छ। ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्याबरणीय-हरियाली (इकोपार्क) ललितपुर महानगरपालिकाले निर्माण गर्न लागेको हो।

यसका लागि ललितपुर महानगरपालिकाले इञ्जिनीयरिङ अध्ययन संस्थानको राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ। ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु-याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्न लागेको ललितपुर महागनरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्।

महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले महानगपालिकाले नयाँ जमीन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्ने नीति रहेको बताएका छन्। महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमीन नरहेको चर्चा गर्दै मेयर महर्जनले गरेका छन्।

मेयर महर्जनले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि रु ५० लाख विनियोजनसमेत गरिएको जानकारी दिए। कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ–आफ्नो नगरपालिकालाई हरियाली शहर (इको सिटी) बनाउने अठोट गरेका थिए। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिए।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडौं उपत्यकाभित्र छ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिए। केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा. डा. शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक रहेको बताए।


प्रकाशन मिति–२०७५ साल कात्तिक १५ गते बिहीवार ।