ललितपुर। वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो विषयमा ललितपुरमा अन्तक्रिया तथा बृहत बहस कार्यक्रम भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ११ स्थित शिक्षा, युवा तथा खेलकूद समितिले शुक्रबार स्थानीय च्वबु गाहिटीमा आयोजित वडाको विकासमा युवावर्गको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो खाँचो औल्याइएको हो।

उनीहरुले वडाको योजना तर्जुमा, योजना कार्यान्वयनमा युवावर्गको सहभागिता सुनिश्चित गराउनुपर्नेमा पनि माग गरे। वडाका विभिन्न टोलका युवावर्गको आवश्यकता पहिचान गरी योजना तर्जुमा गर्न र वडा स्तरीय सञ्जाल निर्माण गर्ने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम गरिएको समितिका संयोजक एवं वडा सदस्य कृष्ण महर्जनले बताए।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै युवावर्गको सामाजिक, आर्थिक, विकासमा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने भनेका छन्। युवावर्गलाई रचनात्मक गतिविधिमा संलग्न गराउन नसके समाज विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन नहुने र कुलतमा फस्न सक्ने खतरातर्फ पनि अध्यक्ष महर्जनले सजग गराएका छन्।

सो अवसरमा ललितपुर महानगरपालिका वडा नं ११ का वडा सदस्य एवं कार्यपालिका सदस्य आपुलु शाक्यले चालू आर्थिक वर्षमा युवा लक्षित बजेट विनियोजित गर्न नसकेपनि आउंदो आर्थिक वर्षमा वडास्तरीय युवा भेला, युवा सशक्तिकरण, नेतृत्व विकासका लागि बजेट विनियोजित गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका अध्यक्ष राजेश बज्राचार्यले वडा, टोल, गुठी लगायत सामाजिक संस्थाले युवावर्ग सक्रिय हुने,क्षमता गर्ने र विकास गरेका क्षमता सदुपयोग गर्ने वातावरण तयार गर्नुपर्ने दायित्व रहेको कुरामा औल्याएका छन्।  महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक केशरी न्यौपानेले आम सरोकारसंग जोडिएको प्रहरीको कार्यक्रममा युवावर्गको सहभागितालाई सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा च्वबु गाहिटी टोल सुधार समितिका अध्यक्ष दिनेश महर्जनले धार्मिक, सांस्कृतिक रुपले विशिष्ट रहेको वडाको समग्र विकासमा युवावर्गको भूमिका सुनिश्चित गराउन टोल विकास संस्था, सामुदायिक संस्थाले वडाका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपर्ने बताए।

अधिवक्ता लक्ष्मण महर्जनले किशोरकिशोरी अवस्थादेखि औपचारिक पढाईका अतिरिक्त अतिरिक्त क्रियाकलापमा सहभागी गराउन र हुने माहौलले समाजको लागि उपयोगी, क्षमतावान युवा उत्पादन हुने भनेका छन्।

बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष समेत रहेका बरिष्ठ सञ्चारकर्मी सुनिल महर्जनले विकास भनेको कसैले कसैलाई किस्तीमा राखेर दिने विषय नभई लक्षित वर्गको समेत सक्रियतामा हुने परिर्वतनको प्रक्रिया रहेको धारणा राखेका थिए। पूर्वअध्यक्ष महर्जनले युवावर्गको सहभागिता सुनिश्चित नगरीकन वडालाई दिएको अधिकार कार्यान्वयन र विकासको गतिलाई अघि बढाउन नसक्ने जिकिर गरे।

वडाअध्यक्षप्रति असन्तुष्टि व्यक्त

वडाले पहिलो पटक आयोजना गरेको सार्वजनिक समारोहमा समेत वडाअध्यक्ष इन्द्रमान महर्जन अनुपस्थिति भएपछि सहभागीहरुले असन्तुष्टि पोखेका थिए। औपचारिक पत्र दिएर प्रमुख अतिथि बन्न स्वीकार गर्नुभएका वडाअध्यक्ष महर्जन कुनै जानकारी नै नदिइकन अनुपस्थिति भएकोमा सहभागीहले वडाअध्यक्षको महर्जनको कार्यशैलीको आलोचना गरेका थिए।

प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।