ललितपुर। ललितपुरमा यतिखेर जात्राको रौनकता बढेको छ। शहकालका देवता रातो मछिन्द्रनाथको मंगलवार सांझ ७ बजेको साइतमा रथारोहण गरेपछि जात्राको रौनकता छाएको हो। ललितपुर जात्रामय भएको छ।

ललितपुरको लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रालाई लिइने गरेको छ। जुन टोलमा रातो मछिन्द्रनाथको रथ पुग्छ। त्यहाँ इष्टमित्र बोलाएर सांस्कृतिक परम्परागत भोज नै हुने गर्दछ। पुलचोकमा रथारोहन पश्चात रथलाई तान्ने कार्यमा महिलाहरुको पनि व्यापक सहभागिता रहेको छ।

रथ तान्नमा पुरुषको बराबरको हैसियत ललितपुरका महिलाहरुले पनि राख्ने गरेको र एक दिन महिलाले मात्र रातो मछिन्द्रनाथको रथ तान्ने गरेको जानकारी ललितपुर महानगरपालिका सामुदायिक विकास महाशाखाकी अधिकृत सरिता महर्जनले भिजन संसारलाई दिएकी छन्। अधिकृत महर्जनले रातो मछिन्द्रनाथको रथारोहणको साइतमा ललितपुरका महिलाहरुको व्यापक सहभागिता रहेको र उत्साहमा कुनै कमी नभएको जिकिर गरेकी छन्।

विहीवारवाट रथयात्रा शुरु भएको छ। यस रथयात्रामा अधिकृत महर्जनले समेत रथ तान्ने कार्य भएको पाइएको छ। रथयात्रा कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको पनि आतिथ्यता रहेको थियो। पुलचोकवाट रातो मछिन्द्रनाथको रथ गाबहाल पुर्याइएको छ।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा यो जात्रा मनाइने गरिएको ऐतिहासिक कथन रहेको छ। मच्छिन्द्रनाथलाई रथयात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन्।

सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ। उनीहरुले कृषक ललितको नाममा रथ तान्ने गर्दछन्। पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो। गाःबहालबाट सुन्धारासम्म रथ तान्ने जिम्मेवारी काठमाडौंवासीको हो। तर निकै पहिलेदेखि नै उनीहरुले रथ तान्न आउन छाडिसकेका छन्। ललितपुरवासीले नै रथ तान्ने कार्य गरिदैआएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ६ गते विहीवार ।