ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ। महानगरपालिकाले सोमवार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपमेयर गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताएकी छन्।

संघीय सरकारबाट रु ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ। प्रदेश सरकारबाट रु तीन करोड र आन्तरिक स्रोत रु एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ। अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन्। अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ।


मेयर चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताएका छन्। मेयर महर्जनले,ललितपुर महानगरपालिकाको विकासको शुरुआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्ने उदघोष गरेका छन्। नगरसभाले पारित गरेको बजेट यही असार ३२ गते सार्वजनिक गरिने भएको छ।


प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।