ललितपुर। काठमाडौं महानगरपालिका पछि ललितपुर महानगरपालिकाले पनि सडक सफा गर्ने ब्रुमर खरिद गरेको छ। ललितपुर महानगरपालिकाले टेन्डर प्रक्रियाद्वारा युरो ४ एमिसन स्ट्यान्र्डका २ वटा ब्रुमर खरिद गरेको हो ।

ललितपुर महानगरले बोलपत्र आहृवान गर्दा जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो। जसले इटालीमा बनेको २ ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० (भ्याटसहित) रुपैयाँमा खरिद गरेको महानगरले जनाएको छ ।

डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ । ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र बीचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुम क्लिनर रहेको छ । ब्रुमरको १२५ किलोवाट इन्जिन क्षमता छ ।

ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियानका काममध्ये ब्रुमर खरिद पनि एक भएको महानगरले जनाएको छ । महानगरको सहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई ब्रुमर पर्याप्त हुने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।


प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।