ललितपुर। ललितपुर महानगरपालिकाले पाँच दिनका लागि नगर कार्यपालिकाको कार्यालय बन्द गर्ने भएको छ। माघ १० गते सोमवारदेखि शुक्रवारसम्म पाँच दिन बन्द गर्न लागेको हो ।

कोभिड–१९ को नयाँ संस्करण ओमिक्रानेको संक्रमणवाट महानगरका कर्मचारी संक्रमित भएर उपचारमा रहेकोले ललितपुर महानगरपालिका नगर कार्यपालिकाले अत्यावश्यक सेवा वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा सञ्‍चालन गर्न नसकेको बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई, नगरप्रहरीका सेवा भने सुचारु नै हुने भनेका छन्।

यता ललितपुर महानगरपालिका वडा नंबर ५ को कार्यालयका कर्मचारीमा कोभिड–१९ को संक्रमण भएकोले गत शुक्रवारदेखि पाँच दिनका लागि वडा कार्यालय बन्द गरिएकोमा माघ १२ गते बुधवारदेखि वडा कार्यालय सुचारु हुने वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्।

वडा अध्यक्ष श्रेष्ठले वडावासीलाई वडा कार्यालय पूर्णतया निसंक्रमित पारेर सेवा दिने आफूहरु व्यापक तयारीमा रहेको पनि बताए ।

प्रकाशन मिति–२०७८ साल माघ ९ गते आइतवार ।