ललितपुर । ललितपुर महानगरपालिकाको १ सय ४१ औं कार्यपालिकाको बैठक शुरु नै नभइकन स्थगित भएको छ। विगत नौ महिनादेखि हुन नसकेको ललितपुर महानगरपालिकाको बैठक विहीवार शुरु नै नभइनक स्थगित भएको हो ।

ललितपुर महानगरको बोर्ड बैठकको शुरुवातमै प्रमुख प्रतिपक्षी नेकपा एमाले, समाजवादी, नेकपा माओवादी लगायतका दलका सदस्यहरुले विगतका बैठकमा भएका निर्णय कार्यान्वयन गरेर मात्र थप एजेन्डामा प्रवेश गर्नुपर्ने भन्दै मेयर चिरीबाबु महर्जनको ध्यानाकर्षण गराएपछि बैठक केही बेरमै स्थगित भएको हो ।

बैठकको शुरुवातमा उपस्थित सदस्यहरुले आ–आफ्नो उपस्थिति जनाएपछि मेयर महर्जनले बैठक शुरु गरेका थिए। त्यसपछि ललितपुर महानगरपालिका वडा नं ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले कार्यान्वयन नभएका पुराना निर्णयहरु कार्यान्वयन गरेर मात्र नयाँ एजेन्डामा जान भन्दै ध्यानाकर्षण पत्र प्रस्तुत गरेका थिए। वडा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका मागमा वडा स्तरीय योजना वडाबाट नै सम्झौता गर्नुपर्नेमा त्यसो नभएको सम्बन्धमा, गत असार १६ गतेको नगरसभाबाट निर्णय भएको चार बुँदे सम्झौता कार्यान्वयन सम्बन्धमा,सम्पत्ति कर वडाबाट नै उठाउने सम्बन्धमा तथा निमोनिया भ्याक्सिन सम्बन्धमा रहेका छन्।

वडा अध्यक्ष श्रेष्ठले आफ्नो ध्यानाकर्षण पत्र बैठकमा प्रस्तुत गरेपछि मेयर महर्जनले आफूलाई टाउको दुःखेको भन्दै बैठक स्थगित गर्ने प्रस्ताव राखेपछि पनि मेयर निकट केही सदस्यहरुलाई बोल्न दिएपछि विपक्षी सदस्यहरुले असहमति प्रकट गरेका थिए। स्थगित भैसकेको बैठकमा आफूखुसी निर्णय गराएर आफ्नो स्वार्थ पूरा गर्दै सदस्यहरुलाई रबरस्टाम्प बनाउने कुनियत रचिएको भन्दै कार्यपालिका सदस्य संगीता अछामीले बैठकमा टेबल ठोकेकी थिइन्।

विपक्षीहरुको चर्को रुपमा असहमति जनाएपछि आफूलाई गाह्रो भएको भन्दै मेयर महर्जन अर्को बैठकको मितिसमेत नतोकी जुरुक्क उठेर हिँडेका थिए। तत्पश्चात नेपाली काङ्ग्रेस निकट केही कार्यापालिका सदस्यहरुले विपक्षीको कुरामा असहमति जनाउदै विरोध गरेका थिए । त्यसको जवाफमा अछामीले महानगरपालिका काङ्ग्रेसको कार्यालय नभएको भन्दै विधिसम्मत तरिकाले बैठक संचालन गर्नुपर्ने भन्दै विरोध गरेपछि बैठक पुन बस्न सकेन र बैठक बीचमै रोकिएको थियो।

गत असार १६ गतेको नगरसभा बैठकमा नगर संचालन सम्बन्धमा ४ बुँदे सम्झौता भएको थियो। जसमा नियम विपरीत मेयरको तोक आदेशको भरमा नियुक्त गरिएका नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नियुक्ति खारेजी, कर्मचारीको ओडी प्रक्रिया,नियमित रुपमा बोर्ड बैठक संचालन तथा आगामी दिनमा सबैको सहमति, सल्लाह र सहकार्यमा नगरेका हरेक योजना र कार्यक्रमहरु अगाडि बढाउने निर्णय भएका थिए। यद्यपि ती कुनै निर्णयहरु अहिलेसम्म कार्यान्वयन नभएको विपक्षीहरुको दावी तथा जिकिर रहेको छ।

वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले पुल्चोक दमकलमा स्थापना गरिएको नगर प्रहरी बलको कार्यालय गैरकानुनी भएको भन्दै खारेज गर्न माग गरेका छन् । साथै आफूहरु मेयरको दास नभएको उनको भनाई छ । उनीहरुले नगरसभाबाट अनुमोदन नगरी सिर्जना गरिएको पद तत्काल खारेज गरी हाछेथुबाट क्षतिपूर्ति समेत असुल उपर गरी बर्खास्त गर्नुपर्ने माग लिखित रुपमा मेयर महर्जन समक्ष राख्दै आएका छन्। हाछेथुलाई हटाउने विषयमा मेयर चिरिबाबु महर्जन र नेकपा (एमाले)बाट निर्वाचित कार्यपालिका सदस्य श्रीगोपाल महर्जन र माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्य रविन्द्र महर्जनले सहमति पत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

सो सहमतिलाई असार ३१ गते बसेको कार्यपालिकाको बैठकले अनुमोदन गरी लगतै बसेको नगरसभामा वाचन गरिएको थियो। सो अवसरमा मेयर महर्जनले महानगरपालिकाबाट हुने हरेक काम, कारवाही कार्यपालिका बैठकबाट निर्णय गराई कानूनी अनुरुप प्रक्रिया अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए,तर अहिलेसम्म पनि उक्त सहमति कार्यान्वयन भएको छैन।

यसैगरी समय समयमा मेयर महर्जनले आफूखुसी नियमविपरीत विभिन्न पदमा आआफ्ना मान्छे नियुक्ति गरेर महानगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाएका छन्। त्यसैको विरोधस्वरूप कर्मचारी ओडी प्रकरणबारे बिहीबारको बैठकमा कुरा उठाईएको हो। यस्तै विगतमा वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीको संयोजकत्त्वमा रहेको सामाजिक विकास समितिलाई खोपको समन्वय गर्ने जिम्मा दिएकोमा पछि मेयरले आफ्नै संयोजकत्त्वमा रहेको खोप समन्वय समितिले निर्णय गर्ने भनी तोकेपछि कसले यसको संयोजन गर्ने भन्ने अन्यौलता उत्पन्न भएको सामाजिक विकास समितिका संयोजक कार्कीले बताए। जसले गर्दा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले खोप लाउन पाएका छैनन्।

प्रकाशन मिति–२०७८ साल माघ २७ गते विहीवार ।