ललितपुर । काठमाडौं उपत्यकाको सवैभन्दा पुरानो तथा प्राचिन नगरी ललितपुर महानगरपालिकालाई पर्यटकीय हब बनाउने नीति ल्याउने भएको छ। प्रथम किराँत राजा यलम्बरको नामवाट यल हुंदै पाटन अनि ललित कलाको नगरी ललितपुर बनेको त्यो गर्बिलो इतिहासलाई जीवन्त वनाउन पर्यटकीय हब बनाउने भएको हो।

विश्वभरका पर्यटकहरुका लागि ललितपुर आफैमा खुल्दुली अनि रहस्यको महानगर भएतापनि पर्यटकहरुलाई दुई घण्टा ललितपुर महानगर घुमेर बास बस्नका लागि काठमाडौंमा नै जाने गरेको छ। यसको प्रमुख कारण ललितपुर महानगरले पर्यटकलाई ललितपुरमा नै बास बस्ने उचित वातावरण सहितको प्रवद्र्धन नगरेको ठहर ललितपुर महानगरपालिका उद्योग,पर्यटन तथा संस्कृति संयोजकमा भारी मतले निर्वाचित ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको रहेको छ।

यसका लागि आफू उद्योग, पर्यटन तथा संस्कृति संयोजकमा निर्वाचित भएयता यसलाई गंभीर रुपमा लिएको र ललितपुर महानगरलाई पर्यटकीय हब बनाउने भिजन तथा मिसन नै राखेको भिजन संसार डटकमलाई बताएका छन्। उद्योग, पर्यटन तथा संस्कृति संयोजक श्रेष्ठले ललितपुर महानगलाई पर्यटकीय हब बनाएर ललितपुरको उद्योग तथा संस्कृतिको उत्थानमा तदारुकताका साथ लाग्ने सोच राखेको बताए। यसमा महानगरवासीको सहयोग र साथ लिएर अगाडि बढ्ने योजना आफूले लिएको पनि संयोजक श्रेष्ठले भनेका छन्।

ललितपुर महानगर आफैमा ललित कलाका धनी सिल्पी कलाकारहरुको महानगर हो। जहाँ नेपाललाई चीन पुगेर विश्वलाई कलाकारको देश भनेर चिनाउने अरनिको जन्मेको महानगर हो। त्यस्तै, १०३ बर्षका शताव्दी पुरुष सत्यमोहन जोशीको कीर्तित्वले उज्याल्यमान भएको ललितपुर महानगर किराँत कालका प्रथम राजा यलम्बरको राजधानी भएको तथ्यलाई व्यापक अनुसन्धानवाट पुष्टि गर्न आवश्यक छ।

आठ सय किराँतहरु मारिएको भनिएको च्यासलको त्यो इतिहासलाई पनि जनसमक्ष ल्याउन आवश्यक भएको तथ्यलाई पनि संयोजक श्रेष्ठले नकारेका छैनन्। महानगरले त्यसको पनि अनुसन्धान गर्न र गराउनको लागि आफू प्रयत्नशील बन्ने प्रतिवद्धता पनि श्रेष्ठले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल असार ३२ गते शनिवार ।