काठमाडौ। नेपालभाषामा प्रकाशित हुंदैआएको लोकप्रिय पत्रिका लहना साप्ताहिकले प्रकाशनको पाँचौ बार्षिक उत्सव मनाएको छ। यस उत्सवलाई महाउत्सव बनाउन लहना साप्ताहिकले विविध क्षेत्रका व्यक्ति–विशेषलाई सम्मान प्रदान गरेर नयाँ आयाम थप्ने कार्य भएको हो।

सुरेन्द्र श्रेष्ठ व्यवस्थापक तथा नृपेन्द्रलाल श्रेष्ठ प्रकाशक र जुजुमान महर्जन सम्पादक रहेको लहना साप्ताहिकले आफ्नो पाँचौ बर्षको महाउत्सवमा यो बर्षको नगद १० हजार सहितको लहना–धर्म–मोति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार शोभा श्रेष्ठलाई प्रदान गरेको छ।

नगद १० हजार सहितको लहना–सूर–सम्मान भने यो बर्ष चलचित्र निर्देशक आर्यम नकर्मीलाई दिइएको छ। लहना–पञ्चबीर पुरस्कार अधिकारकर्मी डा.महेशमान श्रेष्ठलाई नगद २० हजार सहित प्रदान गरियो। नगद १० हजार सहितको लहना–मोहिनी सम्मान मेट्रो एफएमका उदेन न्हूँसायमीलाई दिइएको छ।

लहना–न्यू जेनिथ पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका प्रशान्त माली तथा लहना–केशव–कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार रेडियो नेपालकी रचना श्रेष्ठलाई प्रदान गरिएको हो। त्यसको अलावा नेपालभाषा र संस्कृतिलाई संरक्षण गर्ने कार्यमा उल्लेखनिय योगदान दिने हलिं नेवाःदबुका अध्यक्ष सिजन श्रेष्ठ, निवर्तमान अध्यक्ष डा.बालगोपाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष दया शाक्यलाई विशेष सम्मानका साथमा नव नियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई शुभकामना ज्ञापन गरिएको थियो।

कार्यक्रम शताव्दी पुरुष एवम संस्कृतिविद डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सवैलाई मनोरञ्जन प्रदान गर्ने कार्य भएको थियो।


प्रकाशन मिति–२०७५ साल बैशाख ६ गते विहीवार ।