काठमाडौं। लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर बुधवार मनाएको छ। यस वर्ष नेपालमा “समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ्य जीवन” भन्ने नाराका साथ यो दिवस मनाईएको हो।

यसै दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका गृहमन्त्री राम बहादुर थापा बादलले लागु औषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको बताएका हुन्।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूर्ण रहेको गृहमन्त्री बादलको भनाई रहेको थियो। सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरेर मनाएको लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसको मूल दिन बुधवार विहानै प्रभातफेरि गरेर राष्ट्रिय सभागृहमा गृहमन्त्री बादलको विशेष आतिथ्यतामा विशेष कार्यक्रम भएको थियो।

कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी लगायत नार्कोन नेपाल जस्ता लागूऔषध विरुद्धको कार्यक्रम गर्दैआएका सामाजिक प्रतिष्ठित संघ–संस्थाहरुले सहभागिता जनाएका थिए।
प्रकाशन मिति–२०७६ साल असार ११ गते बुधवार ।