सर्वोच्च अदालत

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की

काठमाडौ। हाल क्यानडामा रहेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्ने कार्यको मंगलवार म्याद तामेल भएको छ।

सर्वोच्च अदालतले एक महिनादेखि पटक पटक गर्दैआएको प्रयास मंगलवार सफल भएपछि लोकमानसिंह कार्की विरुद्धको मुद्दा पेशीमा चढ्ने मार्ग खुलेको छ। अख्तियार प्रमुख हुनका लागि कार्कीको योग्यता नपुगेको भन्दैपरेको मुद्दामा प्रधानन्यायाधिस सुशीला कार्कीसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो।

आदेशसँगै कार्कीलाई सर्वोच्च अदालतमा उपस्थित हुन तामेली दिइएको थियो। मंगलवार म्याद तामेल भएवाट कार्कीले अवको १५ दिनभित्र सर्वोच्च अदालतमा आफै उपस्थित हुन वा प्रतिनिधि पठाउनु पर्नेछन्। म्याद तामेल भएकै दिन मंगलवार क्यानडावाटै कार्कीले थप १० दिन विदा स्वीकृत गराएका छन्।

कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए । पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिँडेका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए।

त्यसपश्चात कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ। कार्कीले शुरुमा असोज ३ देखि २१ गतेसम्म क्यानडामा भ्रष्टाचार निवारणसँग सम्वन्धित निकायको बैठकमा भाग लिन भन्दै विदा स्वीकृत गराएका थिए।

त्यसबीच दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए। उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको हो।
प्रकाशन मिति–२०७३ साल कात्तिक २ गते मंगलवार ।