काठमाडौं। नेपाल र चीन वीचको प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका पुनःसञ्चालनमा आएको छ। नेपालीहरुको महान पर्व दशैंको विदा सकेर खुलेकै दिन बुधवारदेखि तातोपानी नाका औपचारिक रुपमा पुनः सञ्‍चालनमा आएको हो।

बाढीपहिराले तीन महिनादेखि बन्द भएर गत असोज १९ गते सञ्‍चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो।

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्‍चालनमा आएपनि मालवाहक कन्टेनरभने, बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीको भनाई रहेको छ। नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने भएको छ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी काठमाडौं पठाइने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक १२ गते बुधवार ।