Charlsh Shovaraj with Nihita 1काठमाडौ। नेपालको जेलमा विगत १३ बर्षदेखि बस्दैआएका सिरियल लेडी किल्लर मानिएका चाल्र्स शोभराजले करिब तीन महिनाअघि सेन्टर जेलका जेलर बेदप्रसाद खरेललाई आफू अव धेरै नबाँच्ने संकेत गरेका थिए। शोभराजले जेलरलाई मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू भनेर रुंदै भनेको जेलरले नयाँ पत्रिका दैनिकलाई कुराकानीको क्रममा भनेका छन्।

करिब तीन महिनाअघि जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चार्ल्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो। शारीरिक मात्र होइन मानसिक रूपमा पनि शोभराज निकै कमजोर भइसकेका थिए। १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो। शोभराज भाग्न सक्ने डरले मात्र होइन, शोभराजमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, शोभराज कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे।

सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ । त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो । तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो। गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे।

शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए। तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहाँका डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन्।

शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो । तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन् । केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ । उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ ।

Charlsh Shovaraj with Nihita 2

निहिताले दिइन् रगत
अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन्। अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छन् । तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ।

निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन् । निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन्।

आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए । तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन। यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन् । –नयाँ पत्रिका दैनिकबाट साभार
प्रकाशन मिति–२०७४ साल जेष्ठ २९ गते सोमवार ।