काठमाडौं। नेपालकी प्रथम महिला लोकदोहरी उद्यमी सरु थापालाई यो बर्ष जन्म दिनको ठूलै उपहार भएको छ। जन्म दिनकै दिन बुधवार प्रथम महिला लोकदोहरी उद्यमी तथा ख्यातिप्राप्त लोकदोहरी गायिका सरु थापाको जुनकिरी लोकदोहरी सांझले लोकदोहरी प्रथम पुरस्कार प्राप्त गरेको छ।

राष्ट्रिय नाचघर र लोकदोहरी प्रतिष्ठानव्दारा संयुक्त रुपमा आयोजना गरेको बृहत लोकदोहरी प्रतियोगितामा जुनकिरी लोकदोहरी साँझकी प्रोप्राइटर तथा गायिका सरु थापाको टीमले नगद १ लाखको प्रथम पुरस्कार जितेको हो।

जन्म दिनको अवसर पारेर विहानै टोखास्थित पवित्र आश्रममा आश्रित ६२ जना बाआमाहरुलाई भोजन गराएर उनीहरुवाट आशीर्वाद लिएर प्रतियोगितामा होम्मिएकी गायिका थापाको जन्मदिन यो बर्ष अविस्मरणीय नै बन्न पुगेको छ। गायिका थापाले २० बर्षअघि काठमाडौंको दरवारमार्गमा जुनकिरी लोकदोहरी साँझ खोलेर लोकदोहरीको व्यवसाय शुरु गरेकी थिइन्।

कुनैपनि महिला कसैले आँट नगरेको त्यो बेला लोकदोहरीको रेष्टुरेन्ट संचालन गरेर आयाम थपेकी सरु थापा लोकदोहरीको प्रथम महिला उद्यमी हुन्। आँट, धैर्य तथा साहसले बनेकी गायिका सरु थापा हिन्दी तथा अंग्रेजीमा समेत लोकदोहरी गाउन सक्ने गजबकी क्षमतावान गायिका पनि हुन्।


प्रकाशन मिति–२०७६ साल असार २६ गते विहीवार ।