काठमाडौं। देशकै पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको मेयर भनेको देशकै प्रतिष्ठा तथा शान हो। काठमाडौं महानगरपालिकाको मेयर हुनुको गौरबता तथा शानको पछाडि धेरै समस्या पनि लुकेको हुन्छ। गौरबशाली शानको पदमा रहेका मेयरको लागि टाउको दुखाईको विषय भनेकै काठमाडौं महानगरको फोहर व्यवस्थापन नै हो।

यो प्रमुख समस्या नै हो। यो समस्याको हल गर्न र गराउन कठिन कार्य जस्तै हुदैआएको छ। यस कार्यमा स्वतन्त्रवाट उम्मेदवारी दिएर भारी मतले निर्वाचित मेयर बालेन्द्र साहको लागि फलामे चिउरा चपाउनु सरह नै हाल भैरहेको छ। निर्वाचित भएको पहिलो दिन नै शपथ ग्रहण समेत नगरिकन काठमाडौं महानगरको फोहर व्यवस्थापनमा आइरहेको अवरोधलाई ठीक पार्छु भनेर नुवाकोटको सिसडोल तथा बञ्चरे डाँडा पुगेकै हो। फर्केर आएर फोहरको उचित व्यवस्थापन गर्न नसकेसम्म विजयी उत्सव पनि नमाउने तथा फूलमाला पनि नलाउने कसम नै खाएका थिए।

सोचेजस्तो अनि भनेजस्तो काठमाडौं महानगरको फोहर व्यवस्थापन गर्न मेयर साहलाई त्यति सहज र सरल भएन। फोहर व्यवस्थापन गर्न र गराउनका लागि मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठले अख्तियार गरेको अर्गानिक मल बनाउने प्रशोधन शालाको समेत निरीक्षण गरेर त्यस प्रविधिलाई काठमाडौं महानगरमा ल्याउने सोच गरेर मध्यपुर थिमि नगरको भ्रमण समेत गरेका थिए। त्यसैको प्रतिफल काठमाडौं महानगरवासीलाई कुहिने र नकुहिने फोहर छुट्याएर राखेमा मात्र साउन १ गतेवाट फोहर उठाइने र नभएमा नउठाउने जस्ता कडा आदेश मेयर साहको तर्फवाट जारी भएको छ। कुहिने र नकुहिने फोहर राख्ने भाडो महानगरवासीलाई वितरण गर्ने भनिएतापनि हालसम्म त्यो कार्य भने भएको छैन्। यसमा मेयर साह कतिको सफल हुने या नहुने चांडै थाहा हुने नै छ।

त्यसैगरेर, मेयर साह केही हप्ताअघि आयोजित र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा समेत परेको छ। विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका मेयर साहले मुकुट लगाइदिएपछि व्यापक विवादमा तानिएका थिए। संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट र्‍याप ब्याटर जितेर पाउने कुरो होइन । यो मुखःमा बञ्चतथागत रहेको हुनाले बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुख हो । यसको महत्वलाई ध्यानमा राख्न  मेयर साहको चर्को आलोचना भएपछि यस संवन्धमा मेयर साहले सार्वजनिक रुपमा नै आफूवाट गल्ती भएको भनेर माफी मागेका थिए।

मेयर साहले फोहरको व्यवस्थापन गर्न नसकुञ्जेल टीका तथा फूलमाला अनि खादा नलाउने घोषणा गरेतापनि त्यो भने पूरा हुन सकेन। काठमाडौं महानगरमा ज्यापू समुदायले गरेको कार्यक्रममा मेयर साहले ज्यापु समुदायको मन राख्न आफूपनि नेवाः भएको र ज्यापु भएको घोषणा गरेर खादा, फूलमाला तथा टीका लाएका थिए। बोली अनुसार व्यवहार गर्न नजानेका मेयर भनेर साहको आलोचना यसपछि शुरु भएको छ भने, यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथमा मकै ब्यापार गरेर बसेका व्यवसायीको ठेला नै उठाएर गरीखान नै नदिएको चर्को विरोधको आवाज बुलन्द भएको थियो।

अर्को विरोधको आवाज भने, लण्डनमा आत्महत्या गरेका -यापर अनिल अधिकारी अर्थात यमबुद्धको सालिक बनाउन मेयर साहकै पहलकदमीवाट १५ लाख बजेट छुट्याएपछि भएको हो। यमबुद्धको सालिक बनाउनका लाखौ रकम विनियोजित गरेपछि चर्को विरोधको मारमा परेका मेयर साहको लोकप्रियता यसवाट निक्कै तल झरेको छ। त्यो चर्को मारवाट बच्न यमबुद्धको सालिक अव आफ्नै तलब खर्चवाट बनाउने भनेर महानगरवासीको मुख टाल्ने कोशिश मेयर साहवाट भएतापनि त्यो सालिक अव मेयर साहले आफ्नै घरको छतमा राख्ने हो भनेर महानगरवासीले प्रश्न गरेका छन्। महानगरका कुनैपनि सार्वजनिक स्थानमा यमबुद्धका सालिक राख्न नहुने अर्को आवाज बुलन्द भएको छ।

काठमाडौं महानगरलाई सालिक होइन, महानगरवासीलाई उचित राहतको आवश्यकता भएको बेलामा अनावश्यक सालिकको कुरा ल्याएर मेयर साह आफै विवादमा फसेको सवैको भनाई रहेको छ। त्यस्तै अर्को चर्को आलोचना भनेको मेयर साहलाई निर्वाचनको बेला सहयोग गर्ने अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ।

जसवाट पनि लोकप्रियताको पराकाष्ठतामा पुगेका मेयर साह महानगरवासीको नजरमा क्रमिक रुपमा निर्वाचित भएको अढाइ महिना पनि नवित्दै तल झर्न थालेको छ। पढेलेखेको कुनैपनि दलमा नलागेको मेयरवाट महानगवासीको हितका लागि अव भने धेरै राम्रा कार्य गर्नेछ भनेर महानगरवासीले गरेको परिकल्पना विपरित मेयर साहवाट भएका यस्ता कार्यवाट मेयर साहको साखमा व्यापक गिरावट भने अवश्य आएको छ।

प्रकाशन मिति–२०७९ साल साउन १ गते आइतवार ।