काठमाडौ । नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको छ।

Lok Man Singh Karki
Lok Man Singh Karki

म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको हो। सोमबार तेस्रोपटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो। उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनवाइ गर्ने आदेश दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो।

अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्च अदालतको टोलीलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोली म्याद नै नटाँसी फर्किएको आजको राजधानी दैनिकमा खबर छ। कार्कीलाई विपक्षी बनाई दायर रिटमा उनको ठेगाना बानेश्वर उल्लेख भएका कारण अदालतले सोही ठेगानामा म्याद तामेलको प्रक्रिया अघि बढाएको हो। प्रमुख आयुक्त कार्की विदेशमा भएका कारण उनलाई बुझाउन नसेकपछि अदालतका तामेलदारले घरमा म्याद टाँस गर्ने प्रयास गर्दै आएका छन्। तर, घर बहालमा बस्ने व्यक्तिले आफूहरू बहालमा रहेकाले टाँस गर्न नदिने बताएपछि अदालतबाट खटिएको टोलीले वडा कार्यालयको रोहवरमा सूचना टाँसको प्रयास गरेको थियो। वडा कार्यालयले समेत स्थानीयको दबाबका कारण असहयोग गरेपछि तेस्रोपटक अदालतका कर्मचारी कार्कीको घरमा म्याद टाँस गर्न असफल भएको हो।

यसअघि सोही विवादसम्बन्धी दुईपटक कार्कीले सोही घरमा म्याद बुझेका थिए । उनी नियुक्ति हुनुअघि दायर एउटा रिट र नियुक्ति भइसकेपछि नियुक्ति बदरको माग गर्दै दायर अर्को रिटमासेमत कार्कीले बानेश्वरस्थित घरमै म्याद बुझेका थिए । तर, नियुक्ति सदर गर्ने अदालतको अघिल्लो निर्णय पुनरावलोकन हुने निर्णयपछि मागिएको जवाफको म्याद तामेलमा भने कार्की र उनका परिवारले अवरोध गर्दै आएका छन् ।
कार्कीको नियुक्ति बदरको माग गर्दै निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार यसअघि दुई पटकसम्म कार्कीले सोही घरमै म्याद बुझेका थिए। तर, यसपटक पुनरावलोकन मुद्दा लम्ब्याउने मनशायका साथ म्याद बुझ्न र अदालतलाई सहयोग गर्न कार्कीले अस्वीकार गर्दै आएको उनको आरोप छ।

कार्कीको घरमा म्याद टाँस गर्न पटकपटक अवरोध भए पनि सर्वोच्च अदालत प्रशासनले अहिलेसम्म प्रहरीको सहयोग मागेको छैन । उनको घरमा म्याद टाँस गर्न अवरोध भएको अवस्थामा प्रहरी र वडा कार्यालयको सहयोग लिनुपर्नेमा अदालतले वडा कार्यालयबाहेक प्रहरीसँग अहिलेसम्म सहयोग नमागेको अदालत प्रशासनको भनाइ छ।
अदालतको म्याद बुझ्न अस्वीकार गरे या ठेगानामा सम्बन्धित व्यक्ति नभेटिए घरमा म्यादको सूचना टाँस गर्ने, वडा कार्यालय या सार्वजनिक स्थानमा मुचुल्का उठाएर सूचना टाँस गर्ने र सार्वजनिक सञ्चामाध्यममार्फत सूचना प्रकाशन गर्न सकिने कानुनी व्यवस्था छ।

प्रकाशन मिति–२०७३ साल कात्तिक २ गते मंगलवार ।