ललितपुर । नेपाल सम्वत नयाँ बर्ष ११४१ को अवसर पारेर ‘खड्ग पायः जात्रा’ नामक पुस्तक लोर्कापण गरिएको छ। पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक लोपन्मुख लिच्छविकालिन खड्गजात्रा (पायाः) संग सम्बन्धित पुस्तक लोकार्पण भएको हो। ललितपुर क्षेत्र नंबर २ का सांसद कृष्णलाल महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, बागमती प्रदेशका सांसद शोभा शाक्य, अजरमान जोशी लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।

महादुर्गाले महिषासुरको बध गरि मानव जगतको रक्षा गरेको उपलक्ष्यमा विजयादशमीमा विजयउत्सवको रुपमा मनाइने धार्मिक मान्यता बोकेको यस जात्रा सांस्कृतिक बाजागाजासहित उत्सव मनाउनेसंग मात्र सम्बन्धित छैन । लिच्छवीकालदेखि मल्ल र शाह हुदै गणतन्त्रसम्म आइपुग्दा पनि सबै नेपाली सुन्दर फूलबाट उनेको माला झै अविछिन्न र ऐक्यबद्ध भएको सन्देश रुपमा लिइएको छ।
खड्ग हातमा लिएर गरिने जात्रा लिच्छवीकालमा लडाइको रणनीतिअनुरुप पनि विकास भएको, मल्ल राजाहरु उदायसंगै जात्रामा विभिन्न देवीनाचहरु समावेश गरेर थप उल्लासमय बनाएको र जात्राको महत्व, सुरुवात र जात्रासंग सम्बन्धित गुठी, खलः पुचः बाजागाजा र फूलबारेमा पुस्तकमा वर्णन गरिएको छ।

वरिष्ठ संस्कृतिविद् एंव वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक पढेर नेवारहरुको संस्कृतिमा एउटा अलगधारको पायाः सस्कृति (खड्ग सिद्धि प्राप्त गर्ने संस्कृति) को अनुभूत गर्न पाएको बताए । शताब्दी पुरुष जोशीले पुस्तकबाट जात्राको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक पक्षका धेरै ज्ञातव्य, रोचक, प्रासंगिक कुराहरु थाहा पाउन सकिने कुरा व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर २ गते मंगलवार ।