काठमाडौ। काठमाडौ उपत्यकाका नेवार समुदायले परम्परागत रुपमा मनाउंदै आएको गठामुगः अर्थात घण्टाकर्ण पर्व विहीवार मनाएका छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने पर्व भएकोले यसलाई घन्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ।

दुई दशक अगाडि विशेषत काठमाडौका टोल टोलमा मनाइने गरेको यो पर्व हाल आएर काठमाडौका केही कोर एरियाका टोलहरुमा सिमित बन्न थालेको छ। लोप हुने अवस्थामा पुगेको यो पर्वको आफ्नै विशेषता तथा महत्व रहेको छ। दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै विहानै देखि घरआँगनमा सरसफाइ गरेर राक्षसीस्वरुपको घण्टाकर्ण दहन गर्ने प्रचलन रहेको छ।

राक्षसीस्वरुपको प्रतिकका रुपमा विरंगी मान्छेलाई दहीको कटारीमा शहरभित्र माग्न लगाई उनलाई हुनसम्म व्यंग्य गरेर नर्कटवाट बनाइएको एक किसिमको लहरोमा राखेर नजिकको नदी किनारमा पुर्याइने गरिन्छ। सकभर घण्टाकर्णको प्रतिक मान्छेलाई नदीमा बगाइदिने नगरेपनि उनी बसेको नर्कटको लहरलाई भने नदीमा सेलाइदिने गरिन्छ।

परापूर्वकालमा कानमा घण्ट झुण्डाएका घण्टाकर्ण राक्षसले काठमाडौवासीलाई सताएकोले त्यसलाई सफलतापूर्वक दहन गरेको प्रतिकात्मक पर्वको रुपमा घण्टाकर्ण पर्व मनाइदै आएको इतिहासविदहरुको कथन रहेको छ।

यस पर्वको दिन राति घरको ढोकामा भूतप्रेत र दुष्ट आत्मावाट जोगिन फलामे तीनखुट्टे किला गाडेर कालो भटमास, जाँड, मासु, छ्यापी लगायतका खानेकुरा चढाउंदै जडीबुटीको धुप घरमा बाल्ने गरिन्छ। विभिन्न ग्रह तथा भूतप्रेतवाट बच्न फलाम र पञ्च धातुको औठी लगाउने चलन पनि रहेको छ।
प्रकाशन मिति–२०७५ साल साउन २४ गते विहीवार ।