काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो।

फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जनको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिवार वडा नंबर १८ को कार्यालयमा आयोजित कार्यक्रममा स्वीचअन गरेपछि वडा सरकार प्रमुख महर्जनको गीतको भिडियो सार्वजनिक भएको हो।

ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्मित वडा सरकार प्रमुख महर्जनको गीतको बोल नै किन दुख्न थाल्यो छाति रहेको छ। प्रेम गर्नु पाप होइन, प्रेमिकाको आवश्यकता पूरा गर्न सकेन भने जीवनमा पर्न सकिने दूर्घटनाको वारेमा सचेतनात्मक सन्देश गीतको भिडियोको कथावस्तुले दिएको छ।

 

गीतको भिडियो सार्वजनिक समारोहमा मेयर शाक्यले आफूपनि कला र कलाकारिताप्रति सजक रहेको र कलाकारिताको उत्थानको लागि तीसको दशकमा नै कुशल व्यवस्थापन गरेको बताए।

बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवले वडा अध्यक्ष महर्जनको मञ्चमा नै व्यक्तिगत रुपमा सम्मान गरेर मेयर शाक्य र वडा अध्यक्ष महर्जन जनसेवी भएको उल्लेख गर्दै दुवैको दिल खोलेर प्रशंशा गर्न चुकेनन्।

गीतका भिडियोका निर्देशक पवन जोशीले गीतको निर्माणको अनुभव र अनुभूति सुनाएका थिए। गीतको भिडियोमा राजेन्द्र कुमार महर्जन (राजी किपु), रविना शाक्य र राजेन्द्र शाक्य साथमा गीतकार न्हुच्छेकाजी महर्जनको अभिनय रहेको छ। अनिल तुलाधरको संगीत रहेको यस गीतको भिडियोमा गायन गायक राजेन्द्र शाक्यको रहेको छ। सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७८ साल असोज २ गते शनिवार ।