अन्तरवार्ता–


काठमाडौं। नेपाल सरकारको निर्णय बमोजिम २०७१ साल मंसिर १६ गते घोषणा भएको नागार्जुन नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल काठमाडौं जिल्लामा पर्दछ । नागार्जुन नगरपालिका वडा नम्बर ९ को विषयमा भन्नुपर्दा यहाँ बाहुन, क्षेत्री, नेवार, मगर,सन्यासी लगायत विभिन्न जात जाति तथा धर्मावलम्बीहरुको बसोबास पाईन्छ।

यो तस्विर देख्नुभयो ? तपाईलाई लाग्छ होला यो कोभिडको बेला मास्क र भौतिक दुरी खोइ भन्ने ? तपाई अचम्म नमान्नुस्, उहाँहरुले कोभिडबाट बच्ने सम्पूर्ण नियमहरुको पालना गर्नुभएको छ। नामी टिमको आग्रहमा तस्विरको लागि एक ठाउँमा जम्मा हुनुभएको मात्र हो। यो तस्विरबाट के बुझ्न सकिन्छ भने नागार्जुन वडा नम्बर ९ का मानिसहरुमा एक किसिमको एकता छ, एउटालाई अफठ्यारो पर्दा अर्कोले सहयोग बानी पनि छ।

यहाँ जम्मा भएका मानिसहरु अवकाश प्राप्त भएका तथा जेष्ठ नागरिकहरुको जमात हो। त्यत्तिकै खेर गैरहेको समयको सदुपयोग गरी विकास निर्माणका कामहरुमा स्थानिय निकायलाई कसरी साथ र सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बसेको जमात हो। विकासका काममा यो पार्टी र त्यो पार्टी भन्ने भावना कसैमा पनि छैन, यो मेरो टोल हो मेरो वडा हो भन्ने भावना सबैमा छ। विकासका हरेक पाटोमा वडा अध्यक्षलाई साथ दिदै आउनु भएका यहाँका नागरिकहरु बताउँछन् ।
यसै विषयमा नागार्जुन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामकृष्ण भट्टराईसंग नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप ।

नागार्जुन नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षको रुपमा काम गरिरहनु भएको छ, निर्वाचन हुनु अघि विभिन्न किसिमका योजनाहरु अघि सारेर निर्वाचित हुनुभयो , कति हदसम्म योजना अनुरुप कामहरु भएको छ जस्तो लाग्छ ?

–निर्वाचनमा जुन एजेण्डाहरु पेश गरेर अघि बढेका थियौं, त्यही अनुरुप नै काम भईरहेको छ। करिब ८० प्रतिशत काम भइसकेको छ । जस्तै ः यहाँको प्रमुख समस्या भनेको ढल व्यवस्थापन थियो, खानेपानीको समस्या थियो त्यसको व्यवस्थापन भईसकेको छ। यहाँ परिकार भन्ने क्षेत्रमा ५५ घरधुरीमा कुनैपनि धारा थिएन , अहिले खानेपानी र ढलको राम्रो व्यवस्था भईसकेको छ। भट्टराई टोलको नै कुरा गर्ने हो भने करिब २०० वटा घरमा ढलको व्यवस्थापन भइसकेको अवस्था छ ।

निर्वाचित हुनु अघि जुन योजनाहरु प्राथमिकतामा थिए , ती सबै कामहरु सम्पन्न भईसक्यो भन्नु भयो , बाटोघाटो निर्माणको काम प्राथमिकतामा पर्छ कि पर्दैन ?

–प्रमुख काम भनेको ढल व्यवस्थापन, खानेपानी समस्याको समाधान, बाटो घाटो निर्माणका साथै शिक्षा, स्वास्थ्य पनि प्राथमिकतामा पर्दछन् । यी सबै क्षेत्रमा काम भइरहेको छ । त्यसमा पनि स्युचाटारको बाटो निर्माण विशेष प्राथमिकतामा पर्दछ, स्यूचाटारको दुर्गाकोलोनी देखि उकालो हुँदै पाटीचोकसम्म पूर्ण रुपमा ढलान र पिच भइसकेको छ भने परिकार एरियामा पनि बाटो निर्माण भइसकेको छ। साथै स्युचाटारको वैकल्पिक बाटो यज्ञेश्वरको बाटो पनि पिच भइसकेको छ। वासुकी मार्ग, अवलोकन मार्ग त्यो बाटोमा पनि पिच भइसकेको , ढल व्यवस्थापन सम्पन्न भएको छ । बाटो निर्माण कै कुरा गर्दा इन्सेक चोक, शालिक हुँदै पाटीचोकसम्म बाटो निर्माण भइसकेको छ । त्यसैगरी भित्री साना साना बाटाहरु पनि ढलान, पिच र ब्लक छाप्ने काम भएको छ । अझ भनौ गौरबको योजना भनेको शालिक चोक देखि पाटी चोक सम्म अहिले भइरहेको पिचलाई ओभर ल्यापिङ गर्ने र पाटी चोक देखि गुमज सम्म बाटो खनेर पिच गर्ने योजना अनुरुप चार करोड रुपैयाँको टेण्डर निक्लिसकेको छ । काम पनि शुरु भइसकेको छ । अहिले यो वर्षाको कारण रोकिएको हो, पानी पर्न रोकिए पछि काम पुनः सुचारु हुनेछ । यद्यपि साइड वाल लगाउने काम भने सम्पन्न भइसकेको छ। मठ मन्दिरलाई पनि मर्मत तथा सम्भार र प्रबद्धन गर्ने काम हुँदैछ । यही वडा संगैको गणेश मन्दिरलाई प्राथमिकतामा राखेर १० लाख रुपैयाँ विनियोजित गरेका छौं भने, भट्टराई एरियामा अवस्थित भुवनेश्वरी मन्दिरको लागि १२ लाख रुपैयाँ विनियोजित गरेका छौं। त्यति मात्र होइन, पंचकन्या मन्दिरलाई कलात्मक रुपमा सजाउनलाई काठका झ्याल र ढोका राख्ने काम गर्दै छौं ।

वडाको मुख्य काममा ढल व्यवस्थापन नै आउँछ , यहाँले अघि भनिसक्नु भएको छ सबै ठाउँमा वडाका ढलको व्यवस्थापन भइसक्यो, तर जनगुनासो यो पनि सुनिन्छ कि आफ्नो एरिया र ,आफ्नो पकडको एरियामा मात्र पु-याउनुभयो, के यो साँचो हो? के भन्नुहुन्छ यस सम्बन्धमा ?
–यो बिल्कुल गलत हो भन्छु म , यसमा कुनै पनि सत्यता छैन । मैले अघि पनि भनिसके कि ढल व्यवस्थापन नै पहिलो र प्रमुख प्राथिमिकताको विषय हो । वडा अध्यक्षको हैसियतले काम गर्दा यस्ता खालका आरोप आउनुलाई म सकारात्मक रुपमा लिन्छु। कतिपय अवस्थामा के हुन्छ भने सर्वसाधारण जनताको आफ्नै विविध कारण जस्तै आन्तरिक विवाद, जग्गाको समस्याको कारण पनि यस्तो भएको हुन सक्छ , ति समस्याहरुलाई पनि हामी छिटै नै समाधान गर्नेछौं। ढिलो होला तर, ढल व्यवस्थापन लगायत हरेक समस्याको समाधान गरेरै छोड्नेछौं। हाम्रो कार्यकालको जति अवधि छ त्यो समयावधि भित्रै कसैलाई पनि निराश नबनाइकन कामहरु सम्पन्न गर्नेछौं ।

पाँच वर्षको अवधिमा काम गर्दै जादा स्थानिय बासिन्दाको सहयोग कतिको पाउनु भएको छ ?
–वास्तवमा भन्ने हो भने स्थानिय बासिन्दाको सहयोग विना हामी कुनै पनि काम सम्पन्न गर्न सक्दैनौं । विकास निर्माणको काम भनेको मेरो आफ्नो लागि होइन, स्थानिय बासिन्दाको लागि हो । त्यो विकास आफ्नोदैलो अगाडि आउँदा खुशी नहुने कुरै हुँदैन । त्यसैले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।

काम गर्दा कस्ता खालका चुनौतीहरुको सामना गर्नुपर्छ ?
–चुनौतीहरु धेरै आउँछन्, काममा चुनौती नभए कामको मज्जा पनि आउँदैन । अर्को कुरा यो जमाना भनेको स्वार्थीहरुको जमाना भन्दा पनि फरक नपर्ला । विकास निर्माणका कामहरु गर्ला मापदण्ड अनुसार कानुनी प्रकृया पु-याएर गर्नुपर्ने हुन्छ । हामी मानव जातिको एउटा नराम्रो बानी के छ भने विकासका काममा अर्काको जग्गा केही मात्रामा पर्दा ताली बजाउने र आफ्नो अलिकति पर्दा विरोध गर्ने बानी छ । हुन त म त्यसलाई पनि सकारात्मक रुपमा नै लिन्छु । त्यसमा पनि हामी सम्झाई, बुझाई गरेर मापदण्ड अपनाएर काम गर्दै अघि बढ्दैछौं ।

धेरै वर्ष पछिको सम्पन्न निर्वाचनले गर्दा सर्वसाधरण जनताले स्थानिय सरकार पाएका छन्, नियम कानुन बनाएर काम गर्दा कतिको गाह््रो भयो ?
–स्थानिय सरकार आएपछि सर्वसाधारण जनताको धेरै समस्याहरु रहेछन् भन्ने कुराको जानकारी भयो । करिब १९ वर्ष पछि निर्वाचन हुँदा सर्वसाधारण जनताका आन्तरिक कलह, व्यक्तिगत कलह, साधसिमानाका विवाद जस्ता थुप्रै समस्याहरुको बारेमा जानकार हुने मौका पायौं । गुम्सिएका यस्ता समस्याहरु जुन ३०० जति हामीले समाधान गरिसकेका छौं ।

विकास निर्माणका कामहरु गर्दा स्थानिय बासिन्दाको मन कत्तिको जिते जस्तो लाग्छ?
–म ढुक्क संग यो भन्न सक्छु कि, मैले सर्वसाधाराणको मन , मस्तिष्क जितेको छु । जनतालाई खुशी बनाएको छु । आगामी निर्वाचनमा पार्टीले जुन पदमा उठाउँछ, त्यही पदमा बसेर जनताको मन जितेर काम गर्नेछु । जनतालाई कहिले पनि निराश बनाउँदिन । म वडा अध्यक्षको हैसियतले काम गरिरहदा यो पार्टी त्यो पार्टी केही पनि नभनि विना स्वार्थ काम गरिरहने छु ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन १६ गते शनिवार ।