काठमाडौं। काठमाडौं उपत्यकामा वातावरण मैत्री युरो ४ मापदण्डका विलकुलै नयाँ २० वटा साझा बस थपिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा ती २० वटा नयाँ साझा बस थपिएको हो। साझा यातायातले ती बसहरुलाई काठमाडौं उपत्यकाका तीनवटै शहरहरुमा सोमवारदेखि नै संचालनमा ल्याइएको छ।

आजैवाट साझा यातायातका बसहरु अव रातमा पनि चल्न थालेको छ। हाललाई राति १० बजेसम्म चल्ने साझा यातायातले जनाएको छ। पहिलो पल्ट काठमाडौं महानगरपालिकाको पहलवाट साझा यातायातका थपिएका सवै नयाँ बसहरुमा विश्वविख्यात नेपालको मौलिक लिपी रञ्जना लिपीको प्रयोग भएको छ। साझा यातायातका बसहरुमा रञ्जना लिपीको प्रयोग गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष पहल तथा मार्गनिर्देशन भएको पनि साझा यातायातले खुलासा गरेको छ।

आज सोमवार नै विजुली बस संचालनका लागि ३ नंबर प्रदेश सरकार, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले साझा यातायात सहकारी संस्थासंग सहमति पत्रमा हस्ताक्षर गरेको छ। ३ नंबर प्रदेश सरकारकातर्फवाट आर्थिक मामिला मन्त्री कैलाश प्रसाद ढुंगेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जन र साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

सहमति पत्रमा हस्ताक्षरसंगै साझा यातायातलाई विजुली बस खरिद गर्नका लागि ३ नंबर प्रदेश सरकारवाट ३० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख चेक हस्तान्तरण समेत गरिएको थियो। यसअघि काठमाडौं महानगरपालिकाले १० करोड रकम प्रदान गरिसकेको छ। साझा यातायात सहकारी संस्था आफ्नो २ करोड ५० लाखको शेयर लगानी समेत गरेर विजुली बस खरिद गर्न एकमुष्ठ ४५ करोड जम्मा भैसकेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको भनाई रहेको छ।

सोही समारोहमा ३ नंबर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमण्डल स्मार्ट ई–पेमेन्ट कार्ड सार्वजनिक गरेका थिए। त्यस्तैगरेर, नेपालको इतिहासमा पहिलोपल्ट स्थानीय निकाय काठमाडौं महानगरपालिकाको स्थानीय राजपत्रमा काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५ जारी भएको स्थानीय राजपत्रको समेत सार्वजनिकरण गर्ने कार्य भएको थियो। Photo By-Shyam Smrit/VisionSansar
प्रकाशन मिति–२०७६ साल असार १६ गते सोमवार ।