ललितपुर । कर्णालीको विकट जिल्ला डोल्पा यतिखेर चिसोले कठाँग्रिएको छ । चिसोले अझ स्थानीय स्कुले बालबालिका धेरै प्रभावित भएको छ । तिनै चिसोले प्रभावित स्कुले बालबालिकाका लागि लायन्स क्लव अफ काठमाडौं स्वनिगःको संयोजकत्वमा संकलित न्याना कपडा तथा नगद सहयोग गर्ने कार्य भएको छ।

शनिवार आयोजित कार्यक्रममा उक्त सहयोग विकट डोल्पामा त्यहाँको शिक्षा क्षेत्रमा कार्यरत सामाजिक अगुवा विनोद शाहीलाई प्रदान गर्ने कार्य भएको हो । स्नो याक फाउण्डेसनका संस्थापक समेत रहेका काठमाडौंको भुरुँखेलका स्थानीय विनोद शाही पेशाले चित्रकलाका कलाकार हुन्।

कलाकारिताका क्रममा विकट डोल्पा पुगेका विनोद शाहीले त्यहाँको अवस्था अध्ययन गरेर डोल्पा विकट हुनुको एउटै कारण शिक्षाको अभाव तथा ज्ञानको कमी भएको महशुश गरेर त्यतै बसेर शिक्षा क्षेत्रमा योगदान दिने कार्य गरेका थिए । शाहीकै नेतृत्वमा विकट डोल्पामा दुईवटा विद्यालय स्थापना भएको छ ।

कर्णालीको दुःख भनेर मानिएको विकट डोल्पाको दुःख भनेकै ज्ञान र शिक्षाको अभाव भएको खुलासा गर्दै शाहीले त्यहाँ शिक्षाको उज्यालो छर्न आफूले काठमाडौंमा रहेकी आमाको मुन्द्री र धुंग्री पनि बेचेर लगानी जोहो गरेको त्यो तितो यथार्थता कार्यक्रममा वताएका थिए ।

त्यसरी स्थापना गरिएको विद्यालयका विद्यार्थीहरुलाई यो चिसो याममा चिसोवाट बचाउन पहिलो पल्ट लायन्स क्लवको तर्फवाट लायन्स क्लफ अफ काठमाडौं स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, प्रेसिडेन्ट कविता श्रेष्ठ, इमिडेट पास्ट प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्य लगायतको पहल तथा सहयोगलाई डोल्पाका विद्यार्थीहरुले सदा संझिरहने शाहीले भनेका छन्।

 

प्रकाशन मिति–२०७८ साल मंसीर २६ गते आइतवार ।