काठमाडौ। आज विजया दशमीको नवौ दिन अर्थात नवरात्रको महानवमी ! आज नवदुर्गा भवानीको पूजाआजा गरेर धुमधामसंग महानवमी मनाउने क्रम जारी रहेको छ। आजै बर्षमा एकपल्ट मात्र खोलिने काठमाडौको बसन्तपुर स्थित तलेजु भवानी मन्दिर पनि पूजाआजा तथा दर्शनका लागि खोलिएको छ।

taleju-mandir

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ। पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्दछन्।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। मार्कन्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ। महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ।

bhadrakali

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी–निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ। आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ।
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।