Taleju Mandirकाठमाडौ। विजया दशमीको नवौ दिन अर्थात आज महानवमी । महानवमीको दिन विहानै देखि नवदुर्गाको पूजाआजा गरेर नेपालीहरु महान पर्व दशैं मनाउन व्यस्त बनेका छन्। मिठोमसिनो परिकार पकाएर एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै दशैंलाई रौनक बनाउने कार्य भैरहेको छ।

देशैभरका शक्तिपिठहरुमा भक्तजनहरुको विहानैदेखि भीड लागेको छ। बर्षमा एकपल्ट दशैंको महानवमीको दिनमा मात्र सार्वजनिक रुपमा खुल्ला गरिने काठमाडौको हनुमानढोका स्थित तलेजु मन्दिर आज विहानैवाट खुल्ला गरिएको छ। विहान ५ बजेवाट खुल्ला भएको तलेजु भवानीको मन्दिर सांझ अवेरसम्म खुल्ला रहने भएको छ।

हजारौ दर्शनार्थीहरुको तलेजु भवानीको दर्शन गर्न विहानै देखि लामो लाइनमा बसेर दर्शन गरेका छन्। दर्शन गर्न लाइन बस्नेको साँझसम्म पनि जारी हुने देखिएको छ। महानवमीको दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिर खुल्ला गरिएको हो।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ।

प्रकाशन मिति–२०७४ साल असोज १३ गते महानवमी शुक्रबार ।