काठमाडौं। नेपाली चेलीहरुल विदेशमा कोठीहरुमा मात्र नभइकन प्राइभेट अपार्टमेन्टहरुमा समेत बेचिने गरेको खुलासा भएको छ। माइती नेपालले मंगलबार काठमाडौंमा उक्त कुराको खुलासा पत्रकार सम्मेलन मार्फत गरेको हो।

भारतलगायत अफ्रिकी मुलुकहरुबाट गरिएको उद्धारका क्रममा नेपाली चेलीहरुलाई अपार्टमेन्टहरुमासमेत बिक्री गर्न थालेको पाइएको माइति नेपालले जनाएको छ। मानव बेचविखन र ओसारपसारले नयाँ रुप लिन थालेको माइती नेपालको खुलासा छ।

अपार्टमेन्टमा प्रहरी तथा उद्धारकर्मीले शंका नगर्ने भएकाले अपार्टमेन्टलाई कोठीको रुपमा प्रयोग गर्न थालेको पाइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काको भनाई छ। अध्यक्ष खड्काका अनुसार, वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग नेपाल सरकारले आवश्यक समन्वय नगरेका कारण पनि नेपाली चेलीहरुले दुःख भोग्नुपरेको छ। मानव तस्करहरुले अपनाउने नयाँ–नयाँ तरिकाका कारण हराएकाहरुको खोज–तलास र उद्धार थप जटिल बन्दैगएको छ।

यसैवीच, माइती नेपालले सन् २०१९ मा मात्रै २ हजार ४ सय ८५ जनाको उद्धार गरेको स्पष्ट पारेको छ। ४८ ओटा मानव बेचविखनको मुद्दा र १ सय ३६ ओटा जबर्जस्ती करणीका मुद्दाहरुसमेत दर्ता गराइ कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पत्रकार सम्मेलनमा उद्धार गरिएका युवतीहरुले आफूहरु विभिन्न लोभलालचमा फस्न पुगेको बताउँदै यसप्रति सचेत हुन आग्रह गरेका छन्।
प्रकाशन मिति–२०७६ साल पुस १५ गते मंगलवार ।