काठमाडौं। नेपाल सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो।

वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ।
यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्।

सीसीएमसीको बैठकले कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जान दिने निर्णय गरेको छ । रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ।

यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ। विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ। नयाँ स्वास्थ्य सामाग्री आपूर्तिको व्यवस्था सम्बन्धी कार्ययोजना स्वास्थ्य मान्त्रालयले बनाउने पनि बैठकले निर्णय गरेको छ।

बैठकले देशैभरी क्वारेन्टाइन सुधार गर्ने र यसको अनुमगन र निरीक्षण प्रदेश सरकारले गर्ने, क्वारेन्टाइनमा बसेको दुई हप्तामा सबैको परीक्षण सकाउने व्यवस्था गर्ने, थप आइसोलेसनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्रयोगशाला क्षमता बढाउने पनि निर्णय गरेको छ।

सरकारले आइसोलेसन निर्माणका लागि प्रदेशमार्फत पालिकाहरुलाई ३५ करोड विनियोजन गरेको छ।
सरकारले लकडाउन खुकुलो गरेसँगै देशका विभिन्न भागमा संक्रमितको संख्या पनि बढिरहेको भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गरेको छ।
प्रकाशन मिति–२०७७ साल असार ५ गते शुक्रवार ।