काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका थिए । मन्त्री खतिवडाले विद्यार्थीलाई पढ्न उत्प्रेरित गरेका थिए । उनले आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा नेशनल प्याव्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही, पत्रकार जीवराम भण्डारी, गायक धिरज राईका साथै तेक्वान्दोमा स्वर्ण पदक विजेता पलेसा गोवद्र्धनलाई मन्त्री खतिवडाले सम्मान गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति रहेको थियो।

स्नातकसम्म अध्यापन गराइने कलेजले ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा कक्षा सञ्चालन गर्दै आएको छ । प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए।