काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन्।

बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ।
निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन्।

देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। तीन महिनादेखि तलब नपाउँदा निजी विद्यालयका शिक्षकहरुको आर्थिक अवस्था नाजुक भएको काठमाडौं मोडल स्कुलका फाउण्डर प्रिन्सिपल तथा डारेक्टर राजेन्द्र महर्जनले भिजन संसार डटकमको भिडियो वार्तामा भनेका छन्।

सरकारी शिक्षक लगायत सरकारी कर्मचारीलाई बन्दाबन्दीको समयमा कार्यालय नगए पनि तलब सुविधा दिने सरकारले राजपत्रमै सूचना प्रकाशित गरेको छ। संस्थागत निजी विद्यालयका शिक्षकको समस्यामा सरकार मौन बनेको छ।

निजी विद्यालयका शिक्षकहरुमा आएको यो समस्यालाई संवोधन गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन. प्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विद्यार्थीहरुको वांकी बक्यौता शुल्क चुक्ता गर्न आग्रह गरेको छ।

यसरी आग्र्रह  गर्दा सरकार तथा विद्यार्थी संगठनहरुले विरोध जनाएपछि निमुखा भएको निजी विद्यालयहरुलाई ज्यादै कठिनाइ भएको तथा सरकारको निजी विद्यालयको ६० बर्ष लामो योगदानलाई बेवास्ता मात्र गरेको नभइकन चरम विभेद नै गरेको गुनासो काठमाडौं मोडल स्कुलका फाउण्डर प्रिन्सिपल तथा डाइरेक्टर महर्जनको रहेको छ।
प्रकाशन मिति–२०७७ साल असार १९ गते शुक्रवार ।

नेपालमा जारी लकडाउनको १०० दिन पुगिसक्दा शिक्षा क्षेत्र अस्तव्यस्त नै भैसकेको छ। अझ निजी क्षेत्रका संस्थागत वोर्डिङ स्कुलहरुको हाल त बेहाल नै बनिसकेको छ। १०० दिन पुग्दासम्म पनि निजी स्कुलका समस्याका वारेमा चुँक पनि सरकार वोलेको छैन्। सरकारी सामुदायिक स्कुलका शिक्षकहरुलाई घरमा बसाएर तलब खुवाउन सक्ने सरकारले निजी स्कुलले वाँकी वक्यौता उठाएर शिक्षकहरुलाई तलव खुवाउन खोज्दा पनि रोक लगाउने सरकारको विभेदपूर्ण व्यवहार अनि भोकभोकै अनलाइन क्लास लिइरहेका निजी शिक्षकहरुको यथार्थ पीडाका वारेमा काठमाडौं मोडेल स्कुलका फाउन्डर प्रिन्सिपल तथा डाइरेक्टर राजेन्द्र महर्जनले भिजन संसार प्लसमा पोखेको गंभीर वास्तविकता ! Exclusive Interview with Rajendra Maharjan (Founder Principal & Director of Kathmandu Model School)