निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई वल्ड नेवाः अर्गनाईजेशनको विशेष सम्मान

काठमाडौं। काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई काठमाडौं महानगरलाई दिएको अतुलनीय योगदानको कदर स्वरुप विशेष सम्मान प्रदान गरेको छ। नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर शाक्यलाइ सम्मान गरेको हो।

वल्ड नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरले शुक्रबार राजधानीमा आयोजित नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा निर्वतमान मेयर शाक्यको पाँच बर्षे कार्यकालको व्यापक प्रशंशा गरेर सम्मान प्रदान गर्ने कार्य भएको छ। निर्वतमान मेयर शाक्यलाई संघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन्। यस अघि वल्ड नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले निर्वतमान मेयर शाक्यलाई फुलमाला लगाई दिएर सम्मान गरेका थिए।

मातृभाषाको माध्यमबाट पढ्न र पढाउन पाउने कानूनी सुनिश्चिततालाई मूर्तरुप दिने कार्य काठमाडौं महानगरपालिकामा निर्वतमान मेयर शाक्यले गरेर कार्यकालकै अतुलनीय कार्य भएको सवैले दिल खोलेर निर्वतमान मेयर शाक्यको प्रशंशा गरेका थिए। निर्वतमान मेयर शाक्यकै पहल तथा कडा कदमीको कारण काठमाडौं महानगरपालिकाले काठमाडौं चिनौ स्थानीय पाठ्यक्रम बनाएर नेपाल भाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कार्यको शुरुआत भएको हो। जुन काठमाडौं महानगरपालिकाको इतिहासमा नौलो आयाम नै बन्न पुगेको छ।

सम्मानित भएपछि निर्वतमान मेयर शाक्यले आफू सानैदेखि भाषिक र सांस्कृतिक समानताको आन्दोलनमा लागेकोले यस क्षेत्रका मुद्दा, भावना चाहनासंग परिचित भएकोले मेयर हुँदा सबैको सामूहिक प्रयासमा त्यसलाई कार्यरुप दिन अधिकत्तम प्रयास गरेको बताए । ‘ हिजोलाई सम्झिएर, इतिहासलाई बुझेर र भविष्यको आकंलन गरी संस्कृति, सम्पदा, भाषा, साहित्यको क्षेत्रमा नीतिगत रुपमा नै काम अघि बढाएका छौं।त्यसैको धरातलमा टेकेर अहिले झन्डै ८० प्रतिशत नीति तथा कार्यक्रममा समेटिएको छ ।’ उनले भने ‘ मैले भन्दै आएको जनताको कमन सेन्स, चाहनाको आधारमा नीतिगत रुपमा सम्बोधन गरिसकेको कार्यक्रमलाई उल्टाउने काम गरेमा म चुपचाप बस्दिन ।’

महानगरपालिकाको अहिलेको जनप्रतिनिधिले राम्रो काम गर्न चाहेमा आफू विरोध नभई सहजीकरण तयार रहेको पनि शाक्यले बताए। शाक्यले दुई वर्षअघि आफ्नै कार्यकाल बोलपत्र आहवान गरे अनुरुप दुईवटा दमकल एक महिनाभित्र महानगरपालिकामा आइपुग्ने पनि बताए। निर्वतमान मेयर शाक्यले काठमाडौं महानगरपालिकामा मेयरको पाँच बर्षे कार्यकालमा धेरै कार्य संपन्न गरेको तथा केही थोरैमात्र वाँकी रहेको कुरा पनि दिल खोलेर भन्न चुकेनन्। आफूले आफूपछि आउने मेयर तथा जनप्रतिनिधिहरुलाई कार्य गर्न सजिलो हुनेगरी रोडम्याप तयार गरेर आएको कारण नयाँ जनप्रतिनिधिहरुलाई काम गर्न कुनै समस्या नभएको निर्वतमान मेयर शाक्यले दावी गरेका छन्।

निर्वतमान मेयर शाक्यकै नीति तथा योजनालाई वर्तमान मेयर बालेन्द्र शाहले अगाडि ल्याएको जिकिर पनि निर्वतमान मेयर शाक्यको छ। यसअर्थमा पनि विद्यासुन्दर शाक्यको रोडम्यापमा बालेन्द्र शाह रहेको पनि पुष्टि भएको छ।
प्रकाशन मिति–२०७९ साल असार १८ गते शनिवार ।