काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित समारोहमा भट्टराईलाई शपथग्रहण गराएकी हुन्।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद भट्टराईले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गरेकी छन्। गएको मंसिर १४ गते भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका तर्फबाट उम्मेदवार बनेर भट्टराई निर्वाचित भएकी हुन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त कास्की–२ मा नेकपाले रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो।
प्रकाशन मिति–२०७६ साल पुष १ गते मंगलवार ।