काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आज नेपाल बन्दको प्रभाव आँशिक रुपमा परेको छ। बन्दमा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा केही सवारीसाधनमा आगजनी भएको छ।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन्। प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो।

पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रोसमेत केही चर्किएको छ।

बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ। बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ। त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ। उता मकवानपुरको भिमफेदी गाउँपालिका – ९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ। आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ। नवलपरासीको कावासोती डण्डामा एक भारतीय ट्रकमाथि आगजानी भएको छ। बम विस्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन।

नेत्रविक्रम चन्द विप्ल समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ। बन्दको काठमाडौं उपत्यका लगाएत मुलुकका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ। लामो तथा छोटो दुरीका निकै कम मात्र सवारीसाधन चलेका छन्।
प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।