काठमाडौं। महिला तथा पुरुषले विवाहअगाडि यौनसम्पर्क राखे–नराखेको कुरा थाहा पाउन खासै सकिदैन। सामान्य रुपमा तथा अनुमानको आधारमा महिलाले पहिलो यौन सम्पर्कको बेला रगत आए नआएको वा दुखेन दुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ। जसमा कुनै बैज्ञानिक आधार पाइदैन।

पुरुषको हकमा पुरुषमा लिंगको अगाडिको छाला फाटे नफाटेको, पछाडिसम्म खुले नखुलेको आधारमा यौनसम्पर्क भए–नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पनि पाइन्छ । जसमा पनि खासै कुनै बैज्ञानिक आधार नभएको स्वास्थ्यविज्ञहरुको भनाई रहेको छ। खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरामा सत्य मान्न सकिँदैन ।

त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे नराखेको कुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन । यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो ।

योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ ।

जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । त्यसैले यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन । विवाह अगाडि यौन सम्पर्क भयो या भएन भन्ने कुरा त्यो केवल यौन सम्पर्क गर्ने महिला तथा पुरुषलाई वाहेक अरुले थाहा पाउन सक्दैनन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल असार १९ गते विहीवार ।