Miss World Bangaladeshकाठमाडौ। केही दिन अगाडि मात्र ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको खुलासा भएपछि उनको ताज खोसिएको छ । २७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९ मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बनेकी थिइन् ।

‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी बिवाहिता भएको खुलासा भएको हो। पेशाले वकिल रेहकी उनी मोडलिङ पनि गर्दै आइरहेकी छन् । उनले १६ वर्ष कै उमेरमा विवाह गरेको प्रमाण भेटिएपछि बंगलादेश सरकारले उनको ताज खोसेको हो ।

उनको बिवाह सन् २०१३ मै भएको र तीन महिनापछि सम्बन्ध बिच्छेद भएको बंगलादेश सन्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसपछि उनी उनी ढाका आएर मोडलिङ गर्दै कानूनको पढाइ पुरा गरेकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’ आयोजक कमिटीले नइमले प्रतियोगीको लागि चाहिने आधारभूत योग्यता नभएको र ताज जित्नको लागि झुठो बोलेको आरोप लगाएको छ ।

सानै उमेरदेखि मोटरसाइकल चलाउन सिकेकी उनी बंगलादेशमा ‘लेडी बाइक राइडर’को रुपमासमेत चिनिन्छिन् । उनको ताज खोसिएपछि फेसबुकमार्फत उनले १६ वर्षको उमेरमा वाध्यताले बिवाह भएकोले आफुले यसलाई विवाह भन्न नचाहेको बताएकी छन् । उनले लेखेकी छन्,-‘माध्यामिक तहको पढाई पुरा नहुँदै जर्वजस्ती बिवाह गरिदिए त यसमा मेरो के गल्ति छ ?’

प्रतियोगीता आयोजक कमिटीले प्रतियोगीताको नियमअनुसार अबिवाहित महिलामात्रै भाग लिन सक्ने भएकोले उनको ताज फिर्ता लिएको बताएको छ। कमिटिले उनको ताज खोसिएपछि उक्त प्रतियोगीताको फस्ट रनरअप जेसिया इस्लामलाई उक्त ताज दिइएको छ। आगामी मिस वर्ल्ड प्रतियोगीतामा बंगलादेशको तर्फबाट जेसियाले भाग लिने भएकी छन् ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज २१ गते शनिवार ।