काठमाडौं। स्वर्गवासी अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले दोश्रो विवाह गरेकी छन्। नायिका खड्काले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग दोश्रो विवाह गरेकी हुन्।

६ बर्षअघि अमर नायक श्रीकृष्ण श्रेष्ठसंग प्रेम विवाह गरेकी स्वेता खड्काको विवाह खुशीमा नभइकन दुःखमा परिणत भएको थियो। विवाह भएको महिना दिन नपुग्दै अमर नायक श्रेष्ठको विसं.२०७१ साल साउन २५ गते अकल्पनिय निधन भएपछि ६ बर्ष लामो घोर पीडा र आँशुको महासागरमा डुबेर जिन्दगीलाई उतार्दैआएकी नायिका खड्काले त्यो बेला अर्को विवाह नगर्ने कसम नै खाएकी थिइन्। तर, परिवार तथा शुभचिन्तकहरुको अपार प्रेरणाको कारण विवाह गरेको नायिका खड्काले खुलासा गरेकी छन्।

यो विवाहलाई कतिले स्वीकार नगर्ने आफूलाई थाहा भएतापनि मेहन्दीको रंगसंग खुल्दै नयाँ जिन्दगीका पानाहरुमा भुल्ने प्रयासमा रहेको सामाजिक सञ्जाल मार्फत नायिका खड्काले भनेकी छन्। आफूलाई भन्दा बढी माया गर्ने धनगढीका तन्नेरी विजयेन्द्र सिंह राउतसंगको प्रेममा चुर्लुम्मै डुबेकी नायिका खड्काको दोश्रो विवाहले मनग्गे खुशी दिने सवैले विश्वास गरेका छन्।

सात समुद्रपारि अमेरिकामा रहेका नायिका खड्काको धर्मपिता ख्यातिप्राप्त अग्रज नृत्य निर्देशक बसन्त श्रेष्ठले शुभकामना तथा बधाई भनेर सामाजिक सञ्जाल मार्फत आशीर्वाद प्रदान गरेका छन्। धेरै चलचित्रकर्मीहरुले दुःखको महासागरमा डुबेकी नायिका खड्काको विवाहलाई स्वभाविक मानेर बधाई दिएका छन्।

प्रकाशन मिति–२०७७ साल मंसीर २२ गते सोमवार ।