काठमाडौ। विवाह गरेको चार बर्ष पुग्न लाग्दा समेत पिता बन्न नपाएका नेपाली चलचित्रका महानायक राजेश हमाल अव भने धर्म पिता बनेका छन्। हमाल पत्नी मधु भट्टराईवाट हमाललाई सन्तान लाभ नभइकन विद्यार्थी भर्ना अभियानमा महानायक हमालले पश्चिम नेपालको कपिलवस्तुमा अभिभावक गुमाएका एक बच्चाको अभिभावकत्व ग्रहण गरेर भर्ना गरिदिएपछि हमाल धर्मपिता बनेका हुन्।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा शुक्रबार नायक हमालले गौतम बुद्ध उच्च माविमा ५ बर्षिय राज थारुलाई कक्षा १ मा भर्ना गरेका हुन्। हमालले बुद्धभूमी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनी भर्ना गरेका हुन्।

नायक हमालले यो आफ्नो जीवनको पहिलो अनुभव भएको बताए । ‘मेरो पहिल्यै देखि चाहना पनि थियो । यसपटक नेपाल सरकारको नीतिले आफूलाई ठुलो अवसर जुटायो’ हमालले भनेका छन्। ‘राजप्रति मेरो धेरै चासो हुनेछ , म उसलाई पटक पटक विशेष महत्वका साथ हेर विचार गर्नेछु’ हमालले भने, ‘उसले पिता गुमाएको रहेछ, गरिब परिवारमा जन्मिएको छ, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु।’

विद्यालयको भर्ना रजिस्टरमा अभिभावकको रुपमा हस्ताक्षर गर्दै हमालले बालक राजलाई झोला, पाठयपुस्तक र स्टेश्नरी सामाग्री वितरण गरेका थिए। बालकको लालन पोषणको लागि केही रकम समेत प्रदान गरेका थिए। राज थारु बुद्धभूमी २ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन । बुवा काशिराम थारु र आमा लक्ष्मी थारुको उनी कान्छो सन्तान हुन्। उनको बुवाको गत वर्ष कार्तिक १९ गते करेन्ट लागेर मृत्यु भएको थियो।

प्रकाशन मिति–२०७५ साल बैशाख ८ गते शनिवार ।