ललितपुर। नेपालभाषाको पहिलो सर्वाधिक अवार्ड प्रदान गरिने नेपालभाषा दोश्रो स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा विशिष्ट कलाकार तथा निर्देशक एवम् गीतकार पवन जोशीका गीत रचना र निर्देशित भिडियोमा तीन दर्जनभन्दा बढी कलाकर्मी सर्जकहरु सर्वोत्कृष्ट १० मनोनयनमा पर्न सफल भएको छ। आयोजक संसार क्रियशन नेपालका लागि अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनव्दारा जारी सर्वोत्कृष्ट १० मनोनयनमा जोशीका रचना तथा निर्देशनका भिडियाका सर्जकहरु परेको हो।

 

आफ्ना सिर्जनाका सर्जकहरु एक पछि अर्को गरेर तीन दर्जनभन्दा कलाकर्मी सर्जकहरु सर्वोत्कृष्ट १० मनोनयनमा आउंदा अत्यन्त खुशी लागेको प्रतिक्रिया विशिष्ट कलाकर्मी जोशीको छ। नेपाली कला क्षेत्रमा निरन्तर ५१ बर्ष विशिष्ट योगदानको कदर स्वरुप आयोजक संसार क्रियशन नेपालले विशिष्ट कलाकर्मी जोशीलाई यो बर्ष पहिलोपल्ट स्थापित संसार तेज स्मारक कला सम्मानवाट सम्मानित गर्ने घोषणा गरेको छ।

 

जसवाट पनि निक्कै हौसिएका विशिष्ट कलाकर्मी जोशी यसअघि विसं.२०६६ सालमा नेपालभाषाको चलचित्र बांलाः मयजुवाट चलचित्र विकास वोर्डवाट प्रदान गरिएको सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र निर्देशन अवार्डवाट पनि सम्मानित बनिसकेका छन्। कम समयमा ७२ वटा गीतको रचना गरेर कीर्तिमान कायम गरिसकेका जोशीले हालसम्म १ सय गीतका भिडियोको निर्देशन गरिसकेका छन्।

बसन्त ऋतु, धकी दुने लगायतका चलचित्रको पनि निर्देशन गरिसकेका छन्। विसं.२०२७ सालवाट कला यात्रा शुरु गरेका विशिष्ट कलाकर्मी जोशीले डबलीको रंग यात्रावाट अभिनयको शुरुवात गरेर हालसम्म पच्चीसवटा भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। साना पर्दाका दर्जनौ चलचित्रमा अभिनय गरेका जोशी नेपाली कला क्षेत्रका विशिष्ट सर्जक हुन्।

प्रकाशन मिति–२०७९ साल पुस ९ गते शनिवार ।