लण्डन। स्वीडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा बेलायतले जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न बेलायती प्रहरीले सचेत पारेको छ।

राष्ट्रिय पुलिस प्रमुखहरूको काउन्सिल (एनपिसिसी) ले शनिबार बेलायतले स्विडेनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको खेलपछि देशभर शान्ति सुरक्षामा खलल पुर्याउने खालका ३ सय ८७ घटना भएको र ७० जनालाई पक्राउ गरिएको बताएको छ।

‘अत्यधिक रक्सी सेवनका कारण अचेत भएका मानिसले ३ सयभन्दा बढी ठाउँमा नियमविपरीतका घटना गराएका छन्,’ एनपिसिसीका फुटबल नीति प्रमुख मार्क रोबर्ट्सले भने, ‘अराजक समर्थकले थुप्रै पसलमा तोडफोड गर्ने, मानिसलाई दुर्व्यवहार गर्ने, बस तथा कारमा जथाभाबी चढ्ने जस्ता काम गरेर थुप्रै धनको क्षति गरेका छन् । यस क्रममा उनीहरूले पनि क्षति बेहोरेका खबर छन्।’

रोबर्ट्सले आफू खुसी मनाउँदा अरूलाई दुःख नदिन आह्वान गरेका छन् । ‘खेल र जितको मजा नलिन हामी कसैलाई भन्दैनौं। तर आफूले खुसी मनाइरहँदा अरूलाई दुःख दिन पाइँदैन। कानुन मिचेर कसैले कोहीमाथि खराब व्यवहार गरे प्रशासनले आवश्यक कारबाही गर्नेछ,’ उनले भने।

शनिबार लण्डनको बाटोमा पार्किङ गरेको एक एम्बुलेन्समाथि बेलायतको जितमा खुसी र अत्यधिक रक्सी सेवनबाट मात्तिएका समर्थक उफ्रिँदा एम्बुलेन्स क्षतिग्रस्त भएको थियो।
प्रकाशन मिति–२०७५ असार २७ गते बुधवार ।