काठमाडौ। विश्वले उत्साहले हेरिरहेको विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा भव्य रुपमा सुरुवात हुने भएको छ। नेपाली समयअनुसार आज विहीवार वेलुकी सवा ८ बजे रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहको आयोजना हुने भएको हो।

उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले मनमोहक सांगीतिक प्रस्तुति दिने भएका छन्। जसमा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले लोभलाग्दो कला देखाउने भएका छन्। विश्वकप सुरु हुनै लाग्दा मस्कोमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ। त्यसबाहेक पछिल्लो समय युरोपका भिडभाडयुक्त ठाँउलाई निशाना बनाउदै आएका आतंकवादी संभावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ।
उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ। जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिनेछन्।

उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ। रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ। यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ।

विश्वकपका विभिन्न ६४ खेल रुसमा ११ सहरका १२ रंगशालामा हुनेछ। उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार आज विहीवार वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ।

प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।