काठमाडौ। विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ। जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ। उनीहरुले आफू र आफनो कम्पनीबाट कमभन्दा कम कर तिर्न कस्ता कस्ता शैली अपनाउँदा रहेछन् भन्ने पनि खुलासा भएको छ।

ponama

४० वर्षदेखि बिना शंका यस्तो काम गरिरहेको कम्पनीले जनाएको छ। ७२ जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष यस प्रकरणमा कम्पनीसँग जोडिएको पनि खुलेको छ। जर्मन अखबार जूटडायच ट्सायटून्गले प्राप्त गरेको यस दस्तावेज इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टीगेटीभ जर्नालिष्ट, आईसीआईजे मार्फत् सार्वजनिक गरिएको हो। यस दस्तावेज दिने सूत्र को हो भन्ने आफूहरुलाई थाहा नभएको बीबीसीले जनाएको छ।

आईसीआईजेका निर्देशक गेरार्ड राइलले भने दस्तावेजमा मोसाक फोन्सेकाको प्रत्येक दिनको गतिविधि उल्लेख रहेको जनाएका छन्। दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ।
दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ ।

जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन्। पुटिनकी छोरीको गडफादरझै मानिने उक्त व्यक्ति सर्गेई रोल्डूगिन रहेको बताइएको छ । दस्तावेजमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गुनलान्गसानको नाम पनि एक गोप्य विदेशी कम्पनीमा करोडौं डलर लगानी गरेको भनि जोडिएको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७२ साल चैत्र २२ गते सोमवार ।